राजस्व परिचालन हाम्रो सामुन्ने चुनौतीको विषय बन्यो अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले अहिले राजस्व परिचालन चुनौतीको विषय बनेको बताएका छन् । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

अर्थतन्त्रले विभिन्न समस्याहरू झेल्दै अगाडी बढ्नु परेको अवस्था रहेको अर्थमन्त्री पौडेलले बताए । उनले भने, ‘अहिले वास्तवमै नेपाली अर्थतन्त्रमा केही समस्याहरू रहेका छन् । केही चुनौतीसँगै चाप समेत रहेको छ।

राजस्व परिचालन हाम्रो सामुन्ने चुनौतीको विषय बनेको छ । पुँजीगत खर्च सन्तोषजनक ढङ्गले हुन सकिरहेको छैन । लगानीयोग्य रकम छैन । ब्याजदरलाई पनि हामीले वाञ्छित सीमासम्म राख्नका लागि धेरै प्रयास गर्नु पर्ने अवस्था छ । माग र आपूर्तिका बिचमा रहेका समस्याहरू पनि जगजायर नै छ ।

अर्थतन्त्रलाई चलायमान बनाउनका लागि र उच्च दरको आर्थिक वृद्धिदर हासिल गर्नका लागि प्रतिबद्ध रहेको समेत उनले बताए । यसका लागि बैंकको भूमिका सकारात्मक हुने उनले अपेक्षा गरे ।

उत्पादनशील क्षेत्रमा पुँजी परिचालन गर्न बैंकहरुले जोड दिनु पर्ने अर्थमन्त्री पौडेलले बताए । ‘आजका दिनमा समेत ३५ प्रतिशत नागरिकहरू बैङ्किङ पहुँच भन्दा बाहिर रहेका छन् । उनीहरूलाई बैङ्किङ पहुँचको दायरामा ल्याउन आवश्यक छ’, उनले भने ।

नाफामा भन्दा पनि गुणस्तरीय सेवामा केन्द्रित भएर उत्कृष्ट बैंक बन्न सेवा प्रवाह गर्न राष्ट्रिय वाणिज्य बैंकलाई अर्थमन्त्रीले आग्रह गरे । बैङ्किङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकले आफ्नो औचित्य स्थापित गरेको बताए ।

व्यावसायिक दक्षता समेत देखाएको भन्दै बैंकको प्रशंसा समेत उनले गरे । आगामी दिनमा यो बैंक सबै हिसाबले अग्रणी बैंक हुने समेत शुभकामना दिए ।

‘मैले कुनै भय पैदा गर्ने हिसाबले होइन । मैले सच्याई मात्र प्रस्तुत गर्न लागेको हो । यति बेला सरकारी कार्यालय, मन्त्रीहरूले मात्रै होइन, सार्वजनिक संस्थानहरू मितव्ययिता अपनाउनु पर्ने, फजुल खर्च कटौती गर्नु पर्ने ध्यान केन्द्रित गर्नु पर्ने आवश्यक देखिएको छ।