आत्मदाह गर्ने आचार्यकी श्रीमतीद्वारा प्रहरीमा जाहेरी

काठमाडौं। आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका अधिकारीले विभिन्न संस्था र व्यक्तिको नाम उल्लेख गरी १२ विरुद्ध किटानी जाहेरी दिनुभएको छ ।

उहाँले आत्महत्या गर्न दुरुत्साहन गर्न नहुने कसुरमा अनुसन्धान गरी कारबाही गरी पाऊँ भनी जिल्ला प्रहरी परिसर काठमाडौँमा किटानी जाहेरी दिनुभएको हो ।

परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले अधिकारीबाट घटनाको अनुसन्धान गरी पाऊँ भनी किटानी जाहेरी परेको जानकारी दिनुभयो ।

काठमाडौँको नयाँ बानेश्वरमा यही माघ १० गते शरीरमा प्रज्वलनशील पदार्थको प्रयोग गरी आगो लगाउँदा गम्भीर घाइते भएका आचार्यको काठमाडौँको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा ११ गते बिहान निधन भएको थियो ।

आचार्यले आत्मदाह गर्नुअघि सामाजिक सञ्जालमा लेखेको स्ट्याटसमा उल्लेख भएका व्यक्ति र संस्थाको नाम किटेर श्रीमती नानुकाले जाहेरी दिनुभएको छ ।

“मृतक श्रीमान्ले आफ्नो फेसबुकमा आत्महत्या गर्नुअघि पोष्ट गरेको मृत्युकालीन घोषणालाई म जाहेरवालीले मेरो फेसबुकबाट उतारेको प्रमाण र मेरो शङ्काको आधारमा १२ कसुरदार रहेको किटानी जाहेरी पेश गर्दछु”, जाहेरीमा उल्लेख छ ।

जाहेरीमा आचार्यले फेसबुक स्ट्याटसमा नाम उल्लेख गरेको कलेज, विभिन्न कम्पनी र उद्योगीको नाम समावेश छ ।

जाहेरीमा ‘उक्त घटना के कसरी घट्न गयो रु आवश्यक अनुसन्धान गरी पाऊँ’ उल्लेख छ ।