महिला राष्ट्रिय फुटबल टोली स्वदेश फर्ता

काठमाडौं । भारतसँगका दुई मैत्रिपूर्ण खेल खेलेर आइतबार नेपाली महिला राष्ट्रिय फुटबल टोली स्वदेश फर्ता भएकाे छ ।

प्रशिक्षक अनन्तराज थापा पहिलो पटक महिला प्रशिक्षकको रुपमा नियुक्त भएपछिको पहिलो अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा सहभागि भएर नेपाली टोली आइतबार स्वदेश फर्किएको हो ।

आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा ओर्लिएपछि नेपाली टोलीकी कप्तान एञ्जिला तुम्बाप्पोले भारतसँगको दुई मैत्रिपूर्ण खेल नेपाली टोलीका लागि अनुभव सँगाल्ने राम्रो अवसर भएको प्रतिक्रिया दिनुभयो ।

उहाँले पहिलो खेलमा पछि परेको अवस्थामा पनि पुनरागमन गर्नसक्नु टिमको प्रदर्शनमा सुधार भएको टिप्पणी गर्नुभयो । राम्रो पुनरागमन गर्नमा सबै खेलाडीले आ-आफ्नो ठाउनबाट राम्रो खेलेको बताउनुभयो ।

आयोजक टोलीले उमेर समूहका विभिन्न प्रतियोगिता खेल्दै अनुभव लिएपनि उनीहरुबिरुद्ध राम्रो नतिजा निकाल्दा आफू सन्तुष्ट रहेको बताउनुभयो ।

उहाँले प्रिति राई बिरामी हुनाले अपेक्षा अनुसारको खेल्न नसकेको र गीता राना चोटग्रस्त हुँदा केही कठिन भएको स्वीकार गर्नुभयो ।

यस्तै, नेपाली टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले छोटो समयको तयारी भएपनि राम्रो भएको र सोही अभ्यासबाट घरेलु टोलीविरुद्ध सुखद नतिजा निकाल्न सफल भएको बताउनुभयो ।

दुई खेल मध्ये दुवैमा सन्तोषजनक प्रदर्शन भएकाले सबै खेलाडीको मनोबल उच्च रहेको बताउनुभयो । पहिलो खेलमा पछि परेको अवस्थामा स्ट्राइकर सावित्राले सम्हालिएको प्रदर्शन गर्न सकेको बताउनुभयो ।

बिरामी भएका कारण अपेक्षा अनुसारको प्रदर्शन गर्न असफल प्रिति राईले भने जितको खोजिमा आफ्नो टोली भएपनि राम्रो खेलेको बताउनुभयो ।

अर्की खेलाडी अमिषा कार्कीले मैत्रिपूर्ण खेल आफ्नो लागि राम्रो अनुभव बटुल्ने अवसर भएको बताउनुभयो । उहाँले आफ्नो स्वभाविक खेल खेल्न नसकेको भन्दै आगामी दिनमा सुधार गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

एशियन कप छनोटको तयारीमा रहेको नेपाली भारतसँगको खेलबाट राम्रो अनुभव लिएको छ। प्रशिक्षक अनन्तराज थापाले भ्रमण फलदायी भएको र फिफा तालिकाको ६१ औं स्थानको टोलीसँग खेल्दा आफ्नो टोलीको कमी कमजोरी केलाउने मौका मिलेको बताउनुभयो।

भ्रमणको क्रममा घरेलु टोलीमा निकालेको सफलतालाई निरन्तरता दिनुपर्ने धारणा प्रशिक्षक थापाले राख्नुभयो।

भारत भ्रमणको क्रममा नेपालले दुई मैत्रिपूर्ण खेल खेलेको थियो।

खेल अन्तर्गत पहिलो खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै आयोजक भारतसँग २-२ को बराबरी खेलेको थियो । पुनरागमन गर्ने क्रममा सावित्रा भण्डारीले एक पेनाल्टी गोलसहित एक गोल गर्न सफल भएकी थिइन्।

यस्तै, दोस्रो मैत्रिपूर्ण खेलमा भने नेपालले भारतविरुद्ध गोलरहित बराबरी खेलेको थियो । बराबरी नतिजा निकाल्ने क्रममा कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाको खेल उत्कृष्ट रहेको थियो।