पपुवा न्युगिनीविरुद्ध नेपालको शानदार जित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालले पपुवा न्युगिनीविरुद्ध सहज जित हासिल गरेको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३२ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनाएको थियो।

नेपालले १ विकेट गुमाएर ७.४ ओभरमा लक्ष्य भेट्टायो।

नेपालका लागि आसिफ शेखले अर्धशतक पूरा गरे । उनले २१ बल खेल्दै ८ चौका र ३ छक्काको मद्दतमा अविजित ५३ रन बनाए ।

कुशल भुर्तेलले १४ बल खेल्दै चार चौकार २ छक्का मद्दतमा ३३ रन बनाए।

पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफले ३.३ ओभरमै ५१ रनको साझेदारी गरेका थिए।

भुर्तेल आउट भएपछि आसिफले अर्का कुशल (मल्ल)साग मिलेर नेपाललाई जित दिलाए।

कुशल मल्लले अविजित १२ रन बनाए । १३ बल खेलेका उनले १ चौका र १ छक्का प्रहार गरे।

घरेलु मैदानमा भइरहेको लिग टू को अन्तिम शृखंलामा लगातार तीन जितपछि अब नेपाल विश्वकप क्वालिफायरमा पुग्नबाट एक जित मात्र टाढा छ।

अब नेपालको लक्ष्य लिग टू को शीर्ष तीनमा रहेर जिम्बाब्बेमा आगामी जुन-जुलाईमा हुने विश्वकप क्वालिफायर खेल्नेमा छ।

त्यसका लागि नेपालले बिहीबार हुने लिग टू कै अन्तिम खेलमा युएईलाई हराउनुपर्नेछ ।

लेग स्पीनर सन्दीप लामिछानेले ५ विकेट लिएपछि टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनी (पीएनजी) ३२ ओभर खेल्दै ९५ रनमै अलआउट भएको थियो ।

पीएनजीको १० मध्ये ९ विकेट नेपाली स्पिनरले लिँदा सन्दीप एक्लैले ५ विकेट लिए ।

उनले १० ओभरमा १ मेडन राख्दै २५ रन मात्र खर्चेर सर्वाधिक ५ विकेट लिए।

सन्दीपले लिग टू मा दोस्रो पटक ५ वा त्यो भन्दा बढी विकेट लिएका हुन् ।

यसअघि २०२० मा नेपालमै भएको लिग टू मा अमेरिकाविरुद्ध उनले ६ विकेट लिएका थिए ।

यस्तै ललित नारायण राजवंशीले ७ ओभरमा १ मेडन राख्दै १३ रन खर्चेर २ विकेट लिए ।

कुशल मल्लले ३ ओभरमा १ मेडन राख्दै ६ रन खर्चेर २ विकेट लिए।

सोमपाल कामीले ५ ओभरमा २ मेडन राख्दै २२ रन खर्चेर १ विकेट लिए ।

पीनएनजीका लागि कप्तान असद भालाले बनाएको २० रन नै व्यक्तिगत उच्च स्कोर रह्यो।

सेस बाउ १८, चार्ल्स अमिनी १६ र हिरी हिरी १४ रन बनाएर आउट भए। बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।