उपराष्ट्रपतिबारे सत्ता गठबन्धनमा जुट्न सकेन सहमति, भोलि पुन: बैठक बस्ने

काठमाडौँ । उपराष्ट्रपति पदको लागि को उम्मेदवार बन्ने भन्ने बारेमा १० दलीय गठबन्धनमा आज सहमति जुट्न सकेन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ बसेको १० दलीय सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन टुंगिएको हो।

सत्तारुढ १० दलीय गठबन्धनको बैठकमा उपराष्ट्रपति पदको लागि साझा उम्मेदवारको कसलाई साझा बनाउने भन्नेबारे सहमति नजुटेपछि भोलि बिहीबार पुनस् बैठक बसेर सहमति जुटाउने भएको हो।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीलगायत सत्तारुढ १० दलको बैठक बालुवाटारमा बसेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार बैठकमा यही चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचन र मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो। 

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत दश दलभित्रबाटै उपराष्ट्रपतिका लागि तीन जना उम्मेदवार छन् ।

आजको बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादीका अध्यक्ष डा.बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत र आमजनता पार्टीका अध्यक्ष प्रभु शाहलगायत नेताहरु सहभागी थिए।