घुस लिँदालिँदै वडा अध्यक्ष र वडा सचिव पक्राउ

काठमाडौं। धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका वडा अध्यक्ष र वडा सचिव घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई घुस लिँदालिँदै पक्राउ गरेको हो।

कानुनसम्मत गर्नुपर्ने कामका लागि पनि सेवाग्राहीसँग घुस माग गरेपछि निगरानी गरेको अख्तियारको टोलीले सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए। अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रवक्ता दाहालका अनुसार वडा अध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायले जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस मागेका थिए।

सो सम्बन्धमा आयोगमा जानकारी र उजुरी परेपछि निगरानी गरेको अख्तियारको टोलीले जनकपुरधाम उपमहानगरपालिका ६, रामजानकी हस्पिटल नजिकबाट सेवाग्राहीसँग घुस लिइसकेपछि रंगेहात पक्राउ गरेको हो।