माधव नेपालको पार्टी सकियो: जिल्ला अध्यक्षसहित सिंगो कमिटी नै एमाले प्रवेश

काठमाडौं।नेकपा (एकीकृत समाजवादी) रसुवा जिल्ला अध्यक्षसहितको टोली एमालेमा प्रवेश गरेकाे छ।

जिल्ला कमिटी अध्यक्ष विष्णु देवकोटा, बागमती प्रदेश कमिटी सदस्य भरत विश्वकर्मा र जिल्ला समन्वय समित सदस्य ठाकुर पौडेल संयुक्त रुपमा पार्टी परित्याग गरेर एमालेमा फर्किएका हुन्।

आज एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा उहाँको हातबाट खादा लगाएर उनीहरु पुरानै घर फर्किए।

एमालेमा विद्रोह गरी माधव नेपालले समाजवादी गठन गरेदेखि सो पार्टीको रसुवा जिल्ला अध्यक्ष रहँदै आएका देवकोटा स्थानीय तह निर्वाचनमा कालिका गाउँपालिका उपाध्यक्षको उम्मेदवार थिए।

चुनाव हारेपछि पार्टीमा असन्तुष्ट रहँदै आएका उनी त्यतिबेलै एमालेमा जान इच्छुक रहेको बताइएको थियो।

मिसन ग्रासरुटमा व्यस्त जिल्लाका एमाले नेताहरुले अन्ततः देवकोटासहित अरु दुई जनालाई बालकोट पुर्याएर एमालेमा प्रवेश गराएका हुन्।

त्यस्तै एकीकृत समाजवादीबाट केही दिन अगाडि मात्र पार्टीको तेस्रो तहका नेता मुकुन्द न्यौपानेले पत्रकार सम्मेलन गरेर पार्टी परित्याग गरेका थिए।

उनले केही समय पछि पार्टीका अन्य नेताहरू पनि माधवकुमार नेपालको साथ छोड्ने बताइसकेका छन्।