२ करोड अडियो प्रकरण बारे निर्णय गर्न रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड घूस मागेको अडियो सार्वजनिक भएपछि विवादमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे निर्णय गर्न केन्द्रीय समितिको बैठक बस्दै छ ।

रास्वपा केन्द्रीय समितिको बैठक आज दिउँसो २ बजे काठमाडौँको वसुन्धरास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने रास्वपाका महामन्त्री तथा प्रवक्ता डा। मुकुल ढकालले जानकारी दिए।

यसअघि जुम मिटिंगबाट बैठक गर्ने भनिएपनि बैठकमा भाग लिन चितवनमा रहेका रास्वपा सभापति रवि लामिछाने र केन्द्रीय सदस्यहरूलाई काठमाडौँ आउने भएका हुन्।

रास्वपा केन्द्रीय समितिको बैठकलगत्तै पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गर्ने तयारी पनि गरिएको छ। रास्वपाले कठोर निर्णय गरेका उनी पार्टीको साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निष्कासन तथा संसदबाट समेत हटाउन संसद् सचिवालयमा पत्र पठाउन सक्ने छ।

श्रेष्ठ र प्रसाईंबीचको टेप प्रकरणले चितवनको चुनावमा असर पार्ने कोसिस भएको भन्दै सभापति लामिछाने निकै आक्रोशित भएका छन् । यता श्रेष्ठले पार्टीले कारबाही गरे ‘कोर टिम’ सार्वजनिक गरिदिने चेतावनी दिएका छन्।

उनले आफूलाई अप्ठेरो परेका बेला पार्टीले सहयोग गर्नुपर्ने बताउँदै पार्टीले आफूलाई मात्र कडा कारबाही गरे ‘कोर टिम’ खुलासा गर्ने चेतावनी दिएका हुन्।

अडियो टेपको छानबिन गर्न गठित पार्टीको अनुशासन तथा आचरण समितिलाई बयान दिने क्रममा उनले हिजो यस्तो चेतावनी दिएका थिए।

उनले आफूलाई फसाउन खोजिएर अप्ठ्यारो परेका बेला आफूलाई एक्लो पारिए कोर टिमका बारेमा सार्वजनिक रूपमा बोल्न बाध्य हुनेछु भनेर उनले धम्की दिएका थिए । पार्टीले कारबाही गरेर साधारण सदस्यसमेत नरहने अवस्था आएमा आफूले कोर टिमको खुलासा गरिदिने चेतावनी दिएका हुन् ।