यी कारणले सीके राउत नेतृत्वको जनमत पार्टी सरकारमा जाने सम्भावना सकियो

फाइल तस्वीर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा फर्काउन प्रास गरेपनि डा. सीके राउत नेतृत्वको जनमत पार्टी सत्ता गठबन्धनबाट बाहिरिएको छ।

दाहाल नेतृत्वको सरकारलाई सर्मथन गरेर सरकारमा सहभागी भएको जनमतले मन्त्रालयमा चित्त नबुझेपछि सो पार्टीका मन्त्रीले राजीनामा दिएका थिए।

प्रधानमन्त्री दाहाल जनमतलाई सरकारमा फर्काउन प्रयासरत भएपनि कांग्रेसलाई थप मन्त्रालय दिनुपर्ने भएपछि सरकारमा आउने जनमतको सम्भावना सकिएको हो।

जनमत पार्टीले छाडेको खानेपानी मन्त्रालयमा कांग्रेसले मन्त्री पठाउने छ । जनमत पार्टीले पनि विकाससँग सम्बन्धित मन्त्रालय पाए मात्र सरकारमा जाने बताउँदै आएको थियो।

जनमतले माग गर्दै आएको उद्योग मन्त्रालयमा कांग्रेसका रमेश रिजाल मन्त्री बन्नुभएको छ भने जनमतको अर्को रोजाईको मन्त्रालय कृषिमा एकिकृत समाजवादीका बेदुराम भुषाल मन्त्री हुनुहुन्छ।

हाल प्रधानमन्त्री दाहालसँग कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, खानेपानी मन्त्रालय, परराष्ट्र मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय छन्।

तीमध्ये वन मन्त्रालय जनता समाजवादी पार्टीको भागमा परेको छ भने बाँकी पाँच मन्त्रालय कांग्रेसले लिने सहमति भइसकेको बताइएको छ।