दूरसञ्चार प्राधिकरणद्वारा स्मार्ट टेलिकमको लाइसेन्स खारेज

काठमाडौं। अन्तत :स्मार्ट टेलिकमको लाइसेन्स खारेज भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाप्रदायक कम्पनी स्मार्ट टेलिकम प्रालिको लाइसेन्स खारेज गरिदिएको हो।

उक्त कम्पनीको लाइसेन्सको म्याद गत चैत मसान्तसम्म मात्र रहेकोले दूरसञ्चार प्राधिकरणले लाइसेन्स नवीकरण शुल्क, फ्रिक्वेन्सी दस्तुर, रोयल्टी, जरिबाना लगायत सरकारलाई तिनुपर्ने बक्यौता रकम नतिरेपछि कम्पनीको लाइसेन्स खारेज गरिदिएको हो।

स्मार्ट टेलिकमको लाइसेन्स खारेज गरेसँगै अब भोलिदेखि नै उक्त कम्पनीलाई आफू मातहत ल्याउन दूरसञ्चार प्राधिकरणले प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

फ्रिक्वेन्सी दस्तुर, रोयल्टी, नवीकरण बापतको किस्ता,ग्रामीण दूरसञ्चार विकास कोष दस्तुरलगायत करिब ७ अर्ब रुपैयाँ राजस्व नतिरेपछि स्मार्ट टेलिकम प्रालिको लाइसेन्स दूरसञ्चार प्राधिकरणले खारेज गरेको हो।

काठमाडौं र पोखरामा फोरजीका साथै अन्य केही स्थानमा टुजीमार्फत करिब २४ लाख ग्राहकहरुलाई सेवा दिइरहेको स्मार्ट टेलिकमको लाइसेन्स खारेजी भएको हो। यसअघि दूरसञ्चार प्राधिकरणले सेवालाई चुस्तदुरुस्तरूपमा सञ्चालन गर्न स्मार्ट टेलिकम प्रालिलाई निर्देशन दिएको थियो।

स्मार्ट टेलिकमका सेवा देशका केही स्थानमा नचलेको विषयका सम्बन्धमा प्राधिकरणले सूचना जारी गरी उक्त निर्देशन दिएको थियो।

अत्यावश्यक सेवाका रूपमा रहेको दूरसञ्चार सेवाको अनुमति बहाल रहँदासम्म सेवाग्राहीले बिना कुनै अवरोध सेवा उपभोग गर्न पाउने गरी सेवा चुस्तदुरुस्त रूपमा सञ्चालन गर्नुपर्ने प्राधिकरणले जनाएको थियो।

सेवा अतिआवश्यकरूपमा वर्गीकरण गरिएकाले अनुमति बहाल रहँदासम्म नियम–कानुनको पालना गर्दै निरन्तर सञ्चालन गर्नुपर्ने दायित्व रहने प्राधिकरणले जनाएको थियो।