मुगुमा ७० बर्षे पुरूष र ४२ बर्षीया महिलाबीच पहिलो पटक अदालती विवाह

काठमाडौं। मुगुमा पहिलो पटक अदालती विवाह (कोर्ट म्यारिज) भएको छ। यसअघि परम्परा, धर्म, संस्कृति तथा रितीरिवाजअनुसार विवाह हुँदै आएकोमा पहिलो पटक अदालतमार्फत कानुनी प्रक्रिया पूरा गरी विवाह भएको हो।

सोरु गाँउपालिका–७ सिपगाँउका ७० वर्षिय प्यारीलाल काफ्ले र खत्याड गाँउपालिका–४ जिउका गाँउका ४२ वर्षीय जानकी रोकायाबीच आज जिल्ला अदालत मुगुमा विवाह भएको हो। आफूहरुबीच २८ वर्षको फरक भए पनि आफू कसैको दबाब तथा लोभमा नपरेको जानकी रोकायाले बताउनुभयो।

विवाहको कानुनी प्रक्रिया पूरा गरी जिल्ला न्यायाधीश दिलकुमार वर्देवाले विवाहित जोडीलाई प्रमाणपत्र प्रदान गर्नुभयो। न्यायाधीश वर्देवाले जिल्लामा पहिलो पटक अदालती विवाह भएको जानकारी दिनुभयो।

काफ्लेकि श्रीमतीको २०७७ असोज १८ मा निधन भएको थियो भने रोकायाले गत पुस ४ मा श्रीमानसँग सम्बन्धविच्छेद गर्नुभएको थियो।

दुवै जनाको सहमति र साक्षीहरुको उपस्थितीमा अदालती विवाह सम्पन्न भएको जिल्ला अदालत मुगुका श्रेष्तेदार गोविन्द आचार्यले बताउनुभयो।

सत्तरी वर्षको उमेरमा अदालती विवाह गरेपछि गमगढी बजारमा नयाँ जोडी हेर्नेको भिड लागेको थियो।