आयल निगमका पूर्व कार्यकारी निर्देशकलाई पक्राउ पुर्जी जारी

काठमाडौं। नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्कालाई पक्राउ गर्न विशेष अदालतले पुर्जी जारी गरेको छ।

अदालतका न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बाँस्तोला र खुसीप्रसाद थारूको संयुक्त इजालसले खड्काविरुद्ध पक्राउ पुर्जी जारी गरेका हुन।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ पुस २३ मा १८ करोड रुपैयाँभन्दा बढी अकुत सम्पत्ति कमाएको भन्दै खड्का विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

आयल निगमका लागि भण्डारण गृहका लागि झापा, सर्लाही, चितवन र रुपन्देहीमा जग्गा खरिदमा भ्रष्टाचार गरेको आरोपमा उनीमाथि अख्तियारले मुद्दा दायर गरेको थियो।

निगमले चार स्थानमा ७६ बिघा १४ कठ्ठा जग्गा दुई अर्ब ३३ करोड ४० लाख रुपैयाँमा खरिद गर्ने निर्णय गरेको थियो।

उक्त जग्गा खरिदमा चलनचल्तीको मूल्यभन्दा तीन गुणा महंगोमा रकम भुक्तानी गर्ने निगमको निर्णयपछि संसदीय छानबिन समिति समेत बनाएर दोषी औंल्याउने काम भएको थियो।