प्रधानमन्त्रीको भारत भ्रमण वैशाख अन्तिममा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको समय निश्चित भएको छ। परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार २८ वैशाखभन्दा पछि र ५ जेठभन्दा अघि हुने भएको हो। यद्यपि, दुवै पक्षले निश्चित मिति तय गर्न भने अझै केही समय लाग्ने भएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १० मे अर्थात, २७ वैशाखसम्म कर्नाटक राज्यमा हुन गइरहेको निर्वाचन कार्यक्रममा व्यस्त रहने भएपछि प्रचण्डको भ्रमण त्यसअघि नहुने निश्चित भएको हो।

साथै, २० मेपछि मोदी विभिन्न चारवटा देशको भ्रमणमा जाने भएकाले त्यसअघि नै प्रचण्डको भ्रमण सम्पन्न गर्ने तयारी दुवै पक्षको छ।

अहिलेसम्म समय निश्चित भएको छ, तर मिति अझै तय भइसकेको छैन। ११ मे र १९ मेको बीचमा तय गर्ने काम भैरहेको छ,’ परराष्ट्र स्रोतको भनाइ छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणको लागि पठाएको औपचारिक निम्तो पत्र भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरिसकेका छन्।