रुख हाम्रो साझा चिन्ह भइसक्यो: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै खहरे खोला सुक्ने टिप्पणी गरेका छन्।

तनहुँमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले भने, ‘कहिलेकाहीं खहरे खोला उर्लिएर आउँछ, डरलाग्दोगरी आउँछ। तर, त्यो सुक्नेवाला छ। नदी गम्भीर ढंगले महासागरतिर लम्किरहन्छ, यो कुरा नभुलौं।

उनले कुनै आँधी, हुरी र बताससँग नआत्ती सतिसाल झैं खडा भएर शान्ति,संविधान र विकासको निम्ति उभिन आग्रह गरे।

एमालेसहित सात दलीय गठबन्धनबाट प्रधानमन्त्री हुँदा पनि आफूलाई चैन नभएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले स्वाभाविक गठबन्धन यही भएको बताए।

उनले अहिले संघदेखि प्रदेशसम्म गठबन्धनकै सरकार बन्ने अवस्था बनिसकेको बताए।

उपचुनावमा गोविन्द भट्टराईलाई जिताएर पठाए मन्त्री बनाएर पठाउने आश्वाससमेत उनले दिए। रुख चिन्ह कांग्रेसको मात्रै नभएर सबैको साझा भइसकेको उनको भनाइ छ।