फरार सांसद कोइरीलाई तत्काल पक्राउ गर्न माग

काठमाडौं। हत्या अभियोगमा फरार रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको विषयमा प्रतिनिधिसभा बैठकमा चर्को विरोध भएको छ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले सांसद कोइरी विमारी भएका कारण बैठकमा अनुपस्थित भएको सुनाएपछि सांसदहरुले विरोध जनाएका थिए।

सांसद कोइली सांसद भएपनि दुई पटक बैठकमा उपस्थित भएपछि त्यसयता लगातार अनुपस्थित हुँदै आएका छन्।

सभामुख घिमिरेले सांसद कोइरी बिरामी रहेका कारण बैठकमा उपस्थित नभएको सुनाएपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बिरोध जनाएका थिए। सांसद खतिवडासँगै नेकपा माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका सांसदहरु उठेर बिरोध जनाएका थिए।

नेपाली कांग्रेसका सांसद रमेश लेखकले सांसद कोइरी लामो समयदेखि प्रतिनिधिसभा बैठकमा नआएको कुरा स्पष्ट रहेको बताएका थिए। उनले फौजदारी अभियुक्त भएको र अदालतले उनलाई थुनामा पठाउन आदेश दिएकाले प्रहरीले खोजिरहेको र भेटिएमा पुर्पक्षमा लागि थुनामा जानुपर्ने अवस्थामा रहेको भन्दै सभामुखले ‘विरामी बिदा’मा भनेर प्रस्तावित हुन जगहँसाई रहेको बताए।

‘एउटा सदन, प्रतिनिधिसभा देशका सार्वभौम जनताका प्रतिनिधिहरु बसेर एकजना फरार अभियुक्तलाई विरामी छ भनेर निर्णय गरेर घर गए भन्छ सभामुख महोदय’ सांसद लेखकले भने,त्यसकारण यो गम्भीर प्रश्न छ,यसबारेमा सरकार पक्ष, प्रतिपक्ष कुनै पक्षका रुपमा हैन,अरु जे जे मन लाग्छ गर्दा हुन्छ। उहाँ बिरामी हुनुहुन्छ भन्ने कुरा रेकर्डबाट हटाइयोस।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले आफू गृहमन्त्री भएका बेला फरार सांसद कोइरीको विषय पेचिलो बनेको स्मरण गर्दै भने, ‘फरार अभियुक्तलाई विरामी करार गरेर नराखोस भन्ने आग्रह गर्दछु। उनले कोइरी भारतमा फरार रहेको फोटो देखाउँदै पक्राउ गर्नका लागि आग्रह गरे।

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी,नेमकिपाका सांसद प्रेम सुवालले अपराधमा संलग्न भएको ब्यक्ति कसरी बिरामी बिदा लिएर बस्न सक्छ भन्दै कारबाही गर्न माग गरे।

सांसदहरुले सभामुखले फरार सांसद कोइरीलाई बिरामी करार गरेपछिसंसदको रेकर्डबाट तत्काल हटाउन माग गरेका छन्।