एकतामा वैद्य र धर्मेन्द्र : बैकल्पिक शक्तिमा उदय होला त ?

काठमाडौं। शान्ति प्रक्रियामा आएपछि विभाजित भएका विभिन्न माओवादी घटकहरुबीच एकताको चर्चा चलिरहेका बेला दुई कम्युनिष्ट घटकहरुले शनिवार एकता अधिवेशन सम्पन्न गरेका छन्।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतले एकता अधिवेशन गर्दै पार्टीको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल राखेका छन्। दुई पार्टीबीचको एकतापछि बनेको पार्टीलाई उनीहरुले वैकल्पिक क्रान्तिकारी पार्टी बनाउने उदघोष गरेका छन्।

दश वर्षे सशस्त्र जनयुद्धमा सँगै लडेका माओवादी कम्युनिष्ट नेताहरु शान्ति प्रक्रियापछि लामो समय एकै ठाउँमा रहन सकेनन्।

शान्ति प्रक्रियामा आएपछि माओवादी नेतृत्वमा सरकार रहेकै बेला पार्टीभित्रैबाट तत्कालिन प्रधानमन्त्री डा.बाबुराम भट्टराईको विरोध गर्दै क्रान्तिकारी विचार समूह भन्दै नेताशरु सडकमै उत्रिए।

त्यही क्रान्तिकारी विचार समूहले २०६९ असार ४ गते बौद्ध भेला गरी नेकपा-माओवादी बनाए। – माओवादीको नेतृत्व मोहन वैद्यले गरेका थिए।

त्यतिबेला नेत्रविक्रम चन्द ‘विप्लव’, रामबहादुर थापा बादल, देव गुरुङ लगायतका नेताहरु वैद्यसँगै थिए । नयाँ पार्टी बनाएको केही समयपछि वैद्यले क्रान्ति नगर्ने भन्दै विप्लव छुट्टिए भने बादलहरु पुनः मुलधारकै पार्टीमा फर्किए।

मुलधारको माओवादी एमालेसँग एकता गर्दै नेकपा बन्यो। तर त्यो पार्टीलाई सर्वोच्चले मान्यता नदिएपछि बादल लगायतका केही नेताहरु एमालेतिर लागे भने देव गुरुङहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ तिरै सक्रिय छन्।

यता, गत जेठ ३० को स्थानीय तह निर्वाचनमा भाग लिने कि नलिने भन्ने विषयमा विवाद हुँदा वैद्यबाट पनि छुट्टिएर विप्लवतिर लागेका धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीहरुले नेकपा बहुमत बनाए।

शान्ति प्रक्रियामा आएपछि विभक्त हुँदै गएका माओवादी शक्तिहरु एक हुने बहस चलिरहेका बेला वैद्य नेतृत्वको नेकपा ९क्रान्तिकारी माओवादी० र बास्तोला नेतृत्वको नेकपा बहुमतबीच पार्टी एकता भएको छ।

शनिवार दुई पार्टीबीचको एकता अधिवेशनले पार्टीको नाम ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल’ राख्दै २ सय ६७ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरेको छ। एकता अधिवेशनले वैद्यलाई संयोजक र बास्तोलालाई प्रवक्ता तोकेको छ।

पार्टी एकता अधिवेशनमा बोल्दै नयाँ पार्टीका संयोजक वैद्यले हिजोका दिनमा पनि एकै ठाउँमा रहेका विचार सिद्धान्तमा फरक नपरे पनि अलग भएपछि के के नमिलेको उल्लेख गरे।

प्रचण्ड नेतृत्वको पार्टीबाट अलग भएको ११ वर्षपछि वैद्य र बास्तोला एउटै पार्टीमा समाहित भएका छन्।

आगामी अन्तर्राष्ट्रिय मे दिवसका दिन पार्टी एकता घोषणा गर्ने तय गरेका दुवै पार्टीले शनिवार एकता अधिवेशन सम्पन्न गरेका हुन्। पार्टी एकतापछि पार्टीको निर्देशक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र माओवाद नै रहने बताइएको छ।

क्रान्तिकारी कम्युनिस्ट एकतालाई कायमै राख्ने बताएका उनीहरुले मोहन विक्रम सिंहबाट अलग भई बनेको बिद्रोही मशालसँग पनि एकताको प्रयास जारी राखेको दाबी गरेका छन्।