राष्ट्रपतिले उपचार खर्च आफ्नै खल्तीबाट व्यर्होछु भन्नुहोस्: महामन्त्री गगन थापा

फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैंले व्यहोर्नुपर्ने बताउनुभएको छ।

सोमबार नेपाल ट्रेड युनियन कांग्रेसले १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको श्रमिक सभामा सम्बोधन गर्दै महामन्त्री थापाले राष्ट्रपति पौडेल आफैँले आफ्नो उपचार खर्च व्यहोर्नुपर्ने बताउनुभएको हो।

भारतबाट उपचार गरेर आईतवार स्वदेश फर्किनुभएका राष्ट्रपति पौडेलले उपचार खर्च राज्यकोषबाट नभइ आफ्नै खल्तीबाट व्यहोर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले राष्ट्रपति पौडेललाई उपचार खर्च आफैँ व्यहोर्छु भनेर सार्वजनिक गर्न आग्रह समेत गर्नुभयो।

महामन्त्री थापाले गणतन्त्रमा राज्यका उच्च पदस्थ व्यक्तिहरुले राज्यकोषबाट उपचार गर्ने र आम नागरिकले भने आफैँ उपचार गर्नुपर्ने विभेद हुनुनहुने बताउनुभयो।

महामन्त्री थापाले कांग्रेसले विगतमा निर्वाचन अगाडि अन्य दलसँग गरेको गठबन्धनप्रति गल्ती महशुस गर्नुपर्ने बताउनुभयो। उहाँले आगामी दिनमा पार्टीले कुनैपनि दलसँग कहिल्यैपनि गठबन्धन गर्नु नहुने बताउनुभयो।

उहाँले आगामी आर्थिक वर्षको बजेट बन्दै गरेको भन्दै बजेटमा श्रमिकहरुको न्युनतम ज्याला पुनरावलोकनको माग राख्न ट्रेड युनियनकर्मीहरुलाई आग्रह गर्नुभयो । त्यस्तै श्रमिक अस्पताल निर्माणको माग गर्दै आन्दोलनमा उत्रिन पनि उहाँले श्रमिकहरुलाई आह्वान गर्नुभयो।