प्रधानमन्त्री प्रचण्ड–बाबुरामविरुद्ध सर्वोच्चमा मुद्दा

काठमाडौं। सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’विरुद्धको मुद्दा दर्ता गर्न आदेश दिएको छ।

यसअघि सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको मुद्दा सर्वोच्चका न्यायाधीश डाक्टर आनन्ददमोहन भट्टराईको इजलासले दर्ता गर्न आदेश दिएको हो।

जनयुद्धको क्रममा बालसेना प्रयोग गरेको भन्दै लेनिन विष्टले प्रचण्डसहित डा. बाबुराम भट्टराई लगायतलाई विपक्षी बनाएर मुद्दा दर्ता गर्न खोजेका थिए।

सर्वोच्च प्रशासनले यो रिटलाई दरपीठ गरिदिएको थियो। विष्टले बालसेनाको प्रयोग अन्तराष्ट्रिय मानवीय कानुनविपरीतको कार्य भन्दै रिट हालेका थिए। तर उक्त रिटलाई प्रशासनले दरपीठ गरिदिएपछि विष्टले दर्ताका लागि अन्तरिम आदेश माग गरेका थिए।

विष्टले यसअघि बालसेना प्रयोगको विषयलाई अन्तराष्ट्रियकरण गर्ने भन्दै विभिन्न मुलुकमा पुगिसकेका छन्। यद्यपि माओवादी नेताहरुले विष्ट एनजीओ/आइएनजीओको उक्साहटमा यस्तो गरेको आरोप लगाउने गरेका छन्।