बाजुराका बाढी-पहिरोपीडित घर परिवारले अझै पाएनन् सरकारले दिने राहात

सांकेतिक तस्वीर

काठमाडौं। बाजुरा जिल्लामा गत बर्ष असोज १९ देखि २५ गतेसम्म आएको अविरल वर्षाका कारण जगन्नाथ गाउँपालिकाका १ सय १५ परिवारका घर पुर्णरुपले क्षति भएका थिए। बाढीपहिरोका कारण क्षति भएर गाउँ छोडेर अहिलेसम्म पनि पाल्ती गाउँको चौरमा पालको टहरा मुनि बास बस्न बाध्य छन्।

बाढीपहिरोले घर भत्काएको ८ महिना वितिसक्दा पनि अहिलेसम्म आफुहरु घर भित्र बस्न नपाएको बाढीपीडीतको गुनासो छ। बाढीपिडीत परिवारका फागुने सार्कीले भने ११५ परिवार घर विस्थापीत भएपछी आफुहरुले पुनःस्थापनका लागी विभिन्न निकाएहरुसंग हारगुहार गर्दा पनि कसैले वास्ता नगरेको गुनसो गरे।

गाउँपालिकाले उपलब्ध गराएको जग्गा नामसारी गर्न समेत प्रकृया गाह्रो भएको उनिहरूको गुनासो रहेको छ। नामसारी गर्न एक हप्ता जिल्ला सदरमुकाम मार्तडीमा रहेको मालपोत कार्यालय धाउनु पर्यो, त्यहाबाट आएर गाउँपालिकामा अन्य कागजी प्रक्रिया मिलाउनु पर्ने भन्ने कुरा आयो भन्दै पीडित सर्की भन्छन्, झन्झटिलो प्रकृयाले गाह्रो भयो।

पीडितहरु घर कहिले बन्छ भन्ने कुनै ठेगान नहुँदा निराश छन्। सरकारले घर बाढीपहिरोले घर भत्काएको केही दिनमै पुनःव्यवस्थापन गर्ने भन्ने आश्वासन दिएको भएपनि अहिलेसम्म प्रभावकारी कदम नचालेको उनीहरुको दुखेसो छ।

पानी परेको दिन कति बेला पहिरो आउन्छ ? कता दौडनु पर्ने हो भन्ने चिन्ताले साँझ विहान खाना समेत ढुक्कले खाने स्थिति छैन। सामान्य पानी परेका समयमा छोरा,छोरी काखमा च्यापेर घर बाहीरको खुल्ला चौरमा जानु पर्ने बाध्यता रहेको छ।

जगन्नाथ गाउँपालिका दैविक विपद तथा उद्धार समन्वय समितिका अनुसार जगन्नाथ गाउँपालिकामा ११५ घर परिवार उच्च जोखिममा रहेका र वडा नं ६को पाल्ती टोलको ४६ परिवार पुर्ण जोखिमा छन्।

बाढीपीडित परिवारलाइ जगन्नाथ गाउँपालिकाले जग्गा र १० प्रतिशत रकम उपलब्ध गराइ सकेको छ। तर, संघ र प्रदेश सरकारबाट आउने बाँकी रकम समयमा भुक्तानी गर्न नसक्दा बाढीपिडीत परिवारका घर निर्माणमा ढिलाइ भएको हो।

बाढीपीडितको व्यवस्थापनकालागि जगन्ना गाउँपालिकाको १० प्रतिशत, प्रदेश सरकारको ३० प्रतिशत र ६० प्रतिशत संघ सरकारको बजेट रहेको छ।

जगन्नाथ गाउँपालिका वडा ६ पाल्ती गाउँका बाढी पहिरोबाट पुर्ण जोखिममा परेर पालको टहरा मुनि बस्न बाध्य भएका परिवारमा १० जना वृद्ध,वृद्धा,५ जना गभर्ववती महिला र १५ जना ८ वर्ष मुनिका बालबालीका रहेका छन ।