भुटानी शरणार्थी प्रकरण: आज सरकारी वकिलको जवाफी बहस र न्यायाधीशको आदेश

फाइल तस्वीर

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा आजबाट जवाफी बहस सुरु हुने भएको छ। सो प्रकरणमा पक्राउ परेका १८ जना आरोपीको तर्फबाट थुनछेक बहस सकिएपछि आज सरकारी वकिलले जवाफी बहस गर्ने भएका हुन्।

जिल्ला सरकारी वकिलको कार्यालय,काठमाडौँका प्रमुख अच्यूतमणि न्यौपानेसहितका चार जना अधिवक्ताले आज जवाफी बहस गर्नेछन्।

जवाफी बहस शुक्रबार दिउँसो २ बजेभित्र नै सक्न जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले इजलासबाटै निर्देशन दिइसकेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्वित सचिव टेकनारायण पाण्डे,तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, केशव दुलाल र सानु भण्डारीलगायत १८ जनासँग अदालतका न्यायाधीश न्यौपानेलगायतले बयान लिएका थिए।

उनीविरुद्ध ठगी, राज्यविरुद्ध कसुर, संगठित अपराध, लिखत किर्ते र एकीकृत कसुरमा मुद्दा दर्ता गरिएको छ। जवाफी बहस सकेपछि धरौटीमा थुनामुक्त हुने वा थुनामा पठाउने भन्ने आदेश अदालतले दिने छ। बहस सकेपछि समय पुगेमा आजै साँझसम्म थुनछेक आदेश आउन सक्ने बताइएको छ।