आज समाजवादी मोर्चा घोषणा हुँदै

काठमाडौं।लामो छलफलपछि अन्ततः समाजवादी मोर्चा आज घोषणा हुँदैछ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकबाट सरकारमा रहेका तीन दलसहितको समाजवादी मोर्चा सोमबार गठन गर्ने सहमति भएको थियो।

सोमबार दिउँसो ३ बजे राजधानीको राष्ट्रिय सभागृहमा समाजवादी मोर्चा नेपाल घोषणा गर्ने कार्यक्रम तय भएको छ।

समाजवादी मोर्चामा सत्तारुढ दलहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी,जनता समाजवादी पार्टी नेपाल (जसपा) र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रहने निश्चित भएको छ।

मोर्चामा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियान सामेल छैन। ती दलबिनै उनीहरूले राजनीतिक आधार तयार पारेर मोर्चा गठनलाई अन्तिम रूप दिन लागेका हुन्।

मोर्चाको प्रतिबद्धता पत्रको मस्यौदामा मोर्चाको नेतृत्व शीर्ष नेताहरूले आलोपालो गर्ने तथा निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यता अनुरूप हुने उल्लेख छ। मोर्चाका सदस्यहरूले साझा नीति, कार्यक्रम र उद्देश्यको आधारमा काम कारबाही गर्ने पनि मस्यौदामा जनाइएको छ।