आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं।हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

आज राति भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका एक(दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना छ। भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने महाशाखाको भनाइ छ।