विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ता श्रम र उत्पादनमा जोडिदै,झापामा जग्गा भाडामा लिएर धान रोपे

काठमाडौं। नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले झापामा जग्गा भाडामा लिएर धान रोपेका छन् । गौरीगन्जमा तीन बिघा जग्गा भाडामा लिएर सामूहिक धान खेती गर्न थालेको छ।

कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताले अनिवार्य श्रम र उत्पादनमा जोडिनुपर्ने केन्द्रीय निति अन्तर्गत जग्गा भाडामा लिएर धान खेती गरिएको नेकपाका जिल्ला सेक्रेटरी सञ्जय सी ले बताए ।

जनताका विभिन्न समस्या लिएर कहिले संघर्ष त कहिले छलफलमा दौडिने विप्लवका कार्यकर्ता बर्खा लागेसंगै अहिले धान रोपाइँमा जुटेका छन्।

झापा जिल्ला पार्टी अन्तर्गतका सम्पूर्ण नेताकार्यकर्ता असार १० गते पश्चात् निरन्तर श्रम गरिरहेको पार्टीका जिल्ला इन्चार्ज प्रशान्त सी ले बताए।

त्यस्तै यतिबेला पार्टीले देशैभर सयौं बिगाह भन्दा बढी क्षेत्रमा धान लगाइरहेको र पार्टीका सम्पुर्ण नेता तथा कार्यकर्ता श्रमसँग जोडिएको पार्टीका मेची ब्युरो इन्चार्ज सुमनसिंह सी ले बताए।

उनले आत्मनिर्भर अर्थतन्त्र, आत्मनिर्भर उत्पादन, आत्मनिर्भर पार्टी र आत्मनिर्भर नेता एवं कार्यकर्ता नारा दिएर मुलुकैभरी यो अभियान चलाइएको बताए।

उनले इलाम र पाँचथरमा चिया, अदुवा ,अलैंची लगायतको खेती भैरहेको र झापामा धान रोपाइँ भएको बताउँदै अबको केही बर्षभित्रै आफ्नै उत्पादनमा पार्टीका नेताकार्यकर्ता आत्मनिर्भर बन्ने नितिका साथ पार्टी अगाडि बढिरहेको बताए। उनले धान खेती मात्रै नभएर कृषि तथा पशुपालन लगायतका क्षेत्रमा पनि काम शुरु भैसकेको बताए।

नेकपाले अहिले देशैभरका कार्यकर्तालाई असार १० देखि ३० गतेसम्म अनिवार्य उत्पादनसँग जोडिनका लागि भुगोलबाट विदा दिएको जनाएको छ।