नेपाल समाजवादी पार्टीले ६ महिने अभियान शुरु गर्दै

फाइल तस्वीर

काठमाडौं। नेपाल समाजवादी पार्टीले साउन १ गतेदेखि ६ महिनासम्म संगठन निर्माण र विस्तार अभियान सञ्चालन गर्ने भएको छ।

डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाले अभियानको सुरूवातमा साउन १ गते देशभर वृक्षारोपण गर्नेछ। वृक्षारोपणसँगै जिल्ला जिल्लामा अभियान उद्घाटन कार्यक्रम हुने नेसपाले जनाएको छ।

अभियानको सुरू चरणमा प्रदेशस्तरीय प्रशिक्षण बैठक हुनेछ। कोशीमा साउन १५ गते, मधेशमा १७ गते, बागमतीमा १९ गते, गण्डकीमा २३ गते, लुम्बिनीमा २५ गते, कर्णालीमा २७ गते र सुदूरपश्चिममा २९ गते बैठक हुनेछ।

त्यस्तै बैठकले अभियानका लागि विभिन्न प्रदेशहरुमा केन्द्रीय कार्यकारिणी समितिका विभिन्न नेताहरुलाई जिम्मेवारी तोकेको छ।

कोशी प्रदेशमा हिसिला यमी, मधेश प्रदेशमा अध्यक्ष महेन्द्र यादव, बागमती प्रदेशमा गंगा श्रेष्ठ, गण्डकी प्रदेशमा अध्यक्ष डा. बाबुराम भट्टराई, लुम्बिनी प्रदेशमा गोविन्द चौधरी,कर्णाली प्रदेशमा भक्तबहादुर साह र सुदूरपश्चिम प्रदेशमा दुर्गा सोव र जनक शाहको नेतृत्वमा अभियान सञ्चालन हुनेछ।

त्यसैगरी अभियानको प्रभावकारिता अनुगमन गर्न समिति बनाइएको छ। राजनीतिक समिति सदस्य महेन्द्र श्रेष्ठको नेतृत्वमा अनुगमन समिति बनेको हो।