सुदूरपश्चिमका नौ वटै जिल्लामा आत्महत्या न्यूनीकरण चुनौतीपूर्ण बन्दै,कुन जिल्लामा कतिको गयो ज्यान ?

काठमाडौं। सुदूरपश्चिम प्रदेशमा आत्महत्या गर्नेहरुको सङ्ख्या वर्षेनि बढ्दै गएको तथ्यांकले देखाएकाे छ। मानसिक स्वास्थ्यमा समस्या, लहड र सामान्य घरायसी विवाद र अशिक्षा लगायतका कारणले सुदूरपश्चिममा आत्महत्या बढिरहेको सुरक्षा संयन्त्रणको आँकलन छ।पछिल्लो ६ वर्षयता प्रदेशमा सबैभन्दा बढी झुण्डिएर आत्महत्या गर्ने तथ्यांकले देखाएको छ।

सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका अनुसार चालु आर्थिक वर्षको हालसम्म नौ वटै जिल्लामा पाँच सय सात जनाले आत्महत्या गरेका छन्। प्रहरीका अनुसार गतवर्ष सुदूरमा पाँच सय ७६ जना र अघिल्लो आर्थिक वर्षमा छ सय ८६ जनाले आत्महत्या गरेको तथ्यांक छ।

आत्महत्या गर्ने धेरैमा विष खाएर, झुण्डिएर, पानीमा हामफालेर, करेन्ट लगाएर हुने गरेको छ। चालु आवमा सबैभन्दा बढी कैलालीमा दुई सय ३३ जनाले आत्महत्या गरेका छन्।

कञ्चनपुरमा एक सय १९, डोटीमा १५, अछाममा २० , बाजुरा २०, बैतडी २४,बझाङमा २४,दार्चुलामा २५ र डडेल्धुरामा २७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाएकाे छ।

आत्महत्यालाई निरुत्साहित गर्न राष्ट्रियरुपमै योजना बनाएर नियन्त्रणको प्रयासमा लाग्नुपर्ने अवस्था आएको प्रहरी अधिकारीको भनाइ छ। ‘पहाडी जिल्लाभन्दा तराईका जिल्लामा बढी आत्महत्याका घटना बढेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले भने,आत्महत्या नियन्त्रण र लागुऔषध नियन्त्रण सुदूरपश्चिममा मुख्य चुनौती बनेकाे बताए।

आत्महत्या गर्नेमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म रहेको प्रहरी भनाइ छ। मुलुकी अपराधसंहिता २०७४ लागू भएयता आत्महत्या गर्न बाध्य पार्नेमाथि आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गरेर कानुनी कारबाही अघि बढाइए पनि आत्महत्याको दरमा कमी भने आएको छैन।

प्रहरी प्रवक्ता डाँगीले मानसिक रोग भएको अवस्था, डिप्रेशन, बेरोजगारी, पारिवारिक तनाव र पछिल्लो समय सामाजिक सञ्जालको दुरूपयाेगले समेत मानिस आत्महत्या गरिरहेको बताए।

आत्महत्या न्यूनीकरण निकै चुनौतीपूर्ण विषय छ’,उनले भने,यसको नियन्त्रणका लागि सबै निकायबाट पहल हुन जरुरी छ। उनले हरेक दिनजसो यहाँ आत्महत्याका घटना प्रहरीमा आइरहेको बताए।