कांग्रेस केन्द्रीय समिति बैठकमा आजदेखि केन्द्रीय सदस्यहरुले धारणा राख्ने

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बुधबारदेखि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सुरू हुने भएको छ।

मंगलबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा बुधबारबाट केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने छन्। प्रत्येक सदस्यलाई ७ मिनेटको समय दिइएको छ। बैठक केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेदेखि सुरु हुनेछ।

एक वर्षपछि मंगलबारदेखि सुरू भएको बैठकमा महामन्त्री गगन थापाले सांगठनिक प्रतिवेदन पेश गर्नुभएको थियो। प्रतिवेदनमा आउँदो एक वर्षभित्रमा सात लाख नयाँ पार्टी सदस्य बनाउने गरी ‘घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ’ अभियान चलाउने थापाको प्रस्ताव छ।

यस्तै, महामन्त्री थापाले केन्द्रीय सदस्यहरूलाई असार महिनामा मात्रै पार्टीको कामबाट छुट्टी दिने प्रस्ताव पेस गर्नुभएको छ। उहाँले अरू ११ महिना नेता तथा कार्यकर्ता पार्टी काममा लाग्नुपर्ने तालिका पेस गर्नुभएको छ।

असार महिना किसानको महिना भएको र खेतीको समय भएको भन्दै महामन्त्री थापाले पार्टीका नेता, कार्यकर्ताले त्यो महिनामा किसानलाई सहयोग गर्नुपर्ने बताउनुभयो।

यस्तै, बैठकमा उपसभापति एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएबापत आफ्नो पार्टीले राष्ट्रपति पद पाउने पूर्वसहमति भएको खुलासा गर्नुभयो। कांग्रेसले राष्ट्रपति पाउने सर्तमा प्रधानमन्त्री प्रचण्डलाई पुस २६ गते विश्वासको मत दिइएको उहाँको भनाई छ।

उपसभापति खड्काले पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलमा प्रचण्डले राष्ट्रपति नेपाली कांग्रेसलाई दिने प्रतिबद्धता व्यक्त गरेसँगै विश्वासको मत दिइएको उहाँले स्पष्ट पार्नुभयो।