सुन तस्करी प्रकरण: ठमेलबाट थप एक जना पक्राउ

फाइल तस्बिर

काठमाडौं। राजश्व अनुसन्धान विभागले एक सय किलो सुन तस्करी प्रकरणसँग संलग्न देखिएपछि ठमेलस्थित एक होटलमा छापा मारेको छ।

विभागको टोलीले आइतबार बिहानैदेखि छापा मारेर अवैध रुपमा सुन आयात सम्बन्धि केही कागजात र सामग्रीहरु बरामद गरेको विभाग उच्च स्रोतले जनाएको छ। विभागको टोलीले होटलबाट एक जना नेपाल मुलका तर, बेल्जिनिमका नागरिकलाई पक्राउ गरेको छ।

हङकङबाट सुन ल्याएर नेपालमा व्यवस्थापन गर्ने गिरोहसँग जोडिएको पाइएपछि विभागले होटल भियनामा छापा मारेको हो।

राजश्व अनुसन्धान विभागको टोलीले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको एक क्वीन्टल सुन सिनामंगलबाट बरामद गरेको थियो।

मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर अवैध भित्रिएको सुन विमानस्थल भन्सारबाट जाँचपास समेत भएसकेको अवस्थामा विभागको टोलील नियन्त्रणमा लिएको थियो।

विभागले सुन ल्याउने रेडी ट्रेड प्रा.लि.का सञ्चालक दिलीप भुजेल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एजेन्ट र कर्मचारीसहित १८ जना पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ।