वर्षाले बाजुरा र बौडीका केही घरपरिवार विस्थापित

सांकेतिक तस्वीर

काठमाडौं। लगातारको वर्षाले बाजुराका हिमाली गाउँपालिका–३ युना र बौडीका केही परिवार विस्थापित भएका छन्।

शुक्रबार र शनिबार भएको वर्षाका कारण युनाका दिपलाल बुढा,जङ्गबहादुर सुनार,रङ्गमल सुनार,शक्ति सुनार र प्रदीपलाल सुनारको घर भत्किएर पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

यस्तै वर्षाले बौडीका पेमा कार्की,पदम कार्की,कृष्ण कार्की,दावा थापा र सोनाम थापाको घर भत्किएको छ। युनाका १३ परिवार बाढी र पहिरोको जोखिममा रहेको प्रहरीले जनाएको छ।

बौडीका पाँच परिवार गुम्बामा बसोबास गर्दै आएका छन्। पहिराको उच्च जोखिममा दर्जनौँ बस्ती रहेपनि पालिकास्तरीय विपद् जोखिम व्यवस्थापन समितिले दीर्घकालीन योजना भने बनाएको छैन।