नेपाली नर्सहरु पेशाप्रति निराशा, धमाधम विदेश पलायन हुँदै

फाइल तस्वीर

काठमाडौं। नर्सिङ जनशक्ति अभावको समस्या विशेष गरी सरकारी अस्पतालमा जटिल बन्दै गएको छ। यस्तो अवस्थामा सरकारले नर्सिङ जनशक्ति नभए उत्पादनमा जोड्ने तथा भएकालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा केन्द्रित हुनुपर्ने हो। तर नेपालमा भएका दक्ष नर्सिङ जनशक्ति पनि धमाधम विदेश पलायन हुने क्रम बढिरहेको छ।

नेपाल नर्सिङ परिषद्को तथ्यांक अनुसार २०५९ देखि २०८० जेष्ठ २ गते सम्म ३३ हजार ७ सय ६५ जना नर्सहरुले विदेश जानका लागि परिषद्बाट भेरिफिकेसन लेटर लिएका छन्।

तथ्यांकमा २०७५ यता विदेश जाने नर्सको संख्या विस्तारै बढ्दै गएको देखिन्छ। ०७५ सालमा विदेश जान भेरिफिकेसन लेटर लिने नर्सको संख्या ३ हजारको हाराहारीमा थियो भने यो संख्या २०७९ मा आइपुग्दा करिब ७ हजारको हाराहारीमा पुगेको छ।

ती मध्ये ४५ प्रतिशत नर्सले अमेरिका जान भेरिफिकेसन लिएको देखिन्छ। साथै अष्ट्रेलिया र दुबई पनि नर्सहरुको गन्तब्य बनिरहेको छ । विशेष गरी कोरोना महामारीपछि विदेशीने नर्सहरुको संख्या बढी रहेको छ।

दक्ष नर्स जनशक्ति विदेश पलायन हुने कारणहरु मध्ये काम अनुसारको कम पारिश्रमिक त एकातर्फ छदैछ। त्यसमाथि पनि समग्र नर्सिङ पेशालाई गरिने विभेद र सरकारले पनि यसलाई महत्व दिन नसकेको कारण नर्सहरु विदेश पलायन हुने क्रम बढेको नेपाल नर्सिङ परिषद्को भनाई छ।

नेपालमा वर्षमा करिब ७ हजारको हाराहारीमा नर्सिङ जनशक्ति उत्पादन हुने तथ्यांक छ । परिषद्कै तथ्यांक हेर्ने हो भने जेठ १९ गतेसम्म नेपाल नर्सिङ परिषद्मा १ लाख १३ हजार ३ सय ७६ जना नर्स दर्ता भएको रेकर्ड छ।

तर ती नर्सहरुलाई व्यवस्थापन गर्न नसक्दा विदेशीन बाध्य भएको यस पेशामा आवद्ध नर्सहरुको भनाई छ। निजी अस्पतालमा कम पारिश्रमीक तथा सरकारी अस्पतालमा पनि विभिन्न समस्या विकराल रुपमा रहेको नर्सिङ पेशाकर्मीको गुनासो छ।

नेपाल नर्सिङ परिषदमा दर्ता भएका नर्समध्ये ४० प्रतिशत बेरोजगार तथा कामप्रति असन्तुष्ट भएका कारण पेशाप्रति आकर्षण घट्न थालेको छ।

नर्सिङ पढिरहेका विद्यार्थीहरु पनि यो पेशामा सर्मपित भए पनि यसलाई लिएर समाजमा नकारात्मक दृष्टिकोण बढी भएको बताउँछन्। साथै विदेश जानकै लागि नर्सिङ शिक्षा नरोजेको उनीहरुको भनाई छ।

मन्त्रालयले सन् २०३० सम्म नेपालमा ८१ हजार ३ सय ६० नर्सको आवश्यक पर्ने जनशक्ति सम्बन्धी राष्ट्रिय रणनीतिक मार्गचित्रमा उल्लेख गरेको छ।

तर अहिलेकै अनुपातमा नर्सिङ जनशक्ति विदेशीने हो र अहिलेका जनशक्तिलाई व्यवस्थापनतर्फ ध्यान नदिने हो भने यसले विकराल रुप लिन सक्ने यसका जानकारहरुको बुझाई छ।