रास्वपाको दबाबमा परेर सरकार भ्रष्टाचारका फाइल खोल्न बाध्य भयो: सभापति लामिछाने

फाइल तस्वीर

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो पार्टीको दबाबमा परेर मात्रै पुराना भ्रष्टाचारको फाइल खोल्न बाध्य भएको बताएका छन्।

सोमवार काठमाडौंमा आयोजित पार्टीको सुदूरपश्चिम–काठमाडौं सम्पर्क भेलामा बोल्दै उनले सो दाबी गरेका हुन्। सभापति लामिछानेले आफ्नो पार्टीले भ्रष्टाचारविरुद्ध बुलन्द आवाज उठाएपछि सरकार पनि बाध्य भएर भ्रष्टाचारका पुराना फाइल खोल्न अघि सर्नुपरेको जिकिर गरे।

उनले भ्रष्टाचारका फाइल नखोल्ने हो भने २०८४ सालको निर्वाचनमा आफूहरुको हविगत कमजोर हुने देखेपछि सरकार र अन्य राजनीतिक दलहरु पनि भ्रष्टाचार विरोधी अभियानमा लागेको बताए।

सभापति लामिछानेले आगामी निर्वाचनसम्म सुशासनको क्षेत्रमा सरकारले केही काम गरे आफ्नो पार्टीका लागि खुशीको कुरा हुने समेत बताए।

नेपाली जनता आफैँले कोरेको समृद्धिको खाकालाई सार्थक बनाउन सुशासनको प्रत्याभुति चाहिने भन्दै उनले त्यसमा सरकारले केही गर्नुलाई आफ्नो पार्टीले गलत अर्थमा नलिने बताए।

‘हाम्रो उपस्थितिले मात्रै पनि जुन ढंगले होशियारी देखिएको छ–ठाउँठाउँमा । सदनदेखि सरकारसम्म र विभिन्न राजनीतिक दलहरुमा जुन किसिमको एउटा चलायमान अवस्था देखिएको छ। यो आफैंमा एउटा राम्रो संकेत हो,’ उनले भने, ‘यसलाई मैले गलत अर्थमा लिएको छैन।

राम्रो संकेत हो यो। र, मैले सरकारको कामकारबाहीलाई पनि भनेको छु कि जसरी भ्रष्टाचारको बिरुद्ध बुलन्द आवाज उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी बजाउँदै अगाडि आयो।

सम्भवतः यो आगमनले काँही न काँही सरकारलाई पुराना भ्रष्टाचारका फाईल खोल्न प्रेरणा दिएकै हुनुपर्छ। र, लाएकै हुनुपर्छ कि अहिले फाईल खोलिएन भने २०८४ सम्म त के हो के ? भन्ने लागेकै हुुनुपर्छ।

त्यसकारणले यो संकेत देखिएकै छ। ठिक छ। हामी खुशी छौं। हामीले निर्वाचनमा जानुअघि उठाएको विषयमा सरकारले आउने निर्वाचन सम्ममानै धेरै सरसफाई गर्न सकेछ भने हाम्रो काम सजिलो नै हुनेछ।

किनकी नेपाली जनताले अव जुन किसिमको एउटा समृद्धिको खाका कोरेका छन। र, त्यो समृद्धिको खाका कोर्नु भन्दा अगाडि जुन किसिमको सुशासनको प्रतिवद्धता चाहिन्छ। त्यसको छनक देख्न पाएको हुनाले हामी यसमा खुशी नै छौं। हामीले यसमा दुःख मनाउ गर्ने कुरा छैन।

सभापति लामिछानेले आफ्नो पार्टीले आगामी निर्वाचनसम्ममा विदेशमा बस्ने नेपालीहरुलाई मतदान गर्नका लागि आवश्यक व्यवस्था मिलाउने प्रयास गरिरहेको बताए। उनले घरघरमा राष्ट्रिय स्वतन्त्र पार्टी पु¥याउने गरी अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।