सुन प्रकरणमा मेरो संलग्नता छैन,छानबिनमा सहयोग गर्छुः महरा

काठमाडौं। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सुन प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन्।

महराले फेसबुकमा स्टाटस लेख्दै सुन प्रकरणमा आफ्नो नाम जोडिएर आइरहेको र यसमा आफ्नो कुनैपनि संलग्नता नभएको बताएका हुन्।

उनले चिनियाँसँग आफूले फोन नगरेको र उल्लेख गरिएका फोन नम्बरसमेत आफ्नो नभएको बताएका छन्।

उनले यस सम्बन्धमा आवश्यक परे निष्पक्ष छानबिनमा सहयोग गर्ने समेत प्रतिवद्धता जनाएका छन्।

गत पुस १० गते विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याइएको ९ किलो सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जफतगरेको थियो।

उक्त सुन चिनियाँ नागरिक ली हानसङले ल्याएका थिए।

तस्करीको सुन छुटाउन महरा र उनका छोरा राहुल महराले पटकपटक भन्सार अधिकारीहरूलाई दबाब दिएको सार्वजिनक भएको थियो। महराले चिनियाँसँग गरेको टेलिफोन संवाद नै सार्वजनिक भएको थियो।

 माओवादी नेतृत्वको सरकार र गृहमन्त्री नारायणकाजी श्रेष्ठले महरालाई उक्त प्रकरणबाट जोगाएको आरोप छ।यस प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरेको थियो।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायव सुब्बा २७ वर्षीय रेवन्त खड्का, कागेश्वरी मनहरा-९ का ३२ वर्षीय दिनेश बस्नेत, काठमाडौं भोटेबहाल बस्ने वेदप्रकाश अग्रवाल, भारतीय नागरिक ३९ वर्षीय साहेब राव पाण्डुरङ मरग, काठमाडौंको शान्तिनगर बस्ने ३२ वर्षीय अमृत कार्की र पोखरा गैह्रीटापाटन बस्ने २२ वर्षीय निर्मलकुमार विक पक्राउ परेका छन्।

अमृत कार्कीलाई अदालतले साधारण तारेखमा रिहा गरेको छ। बाँकीलाई पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथदेवलमा पठाइएको छ।

यस प्रकरणमा जोडिएका तीन जना भने फरार छन्। सिन्धुपाल्चोक घर भई कागेश्वर मनोहरा-९ बस्ने २९ वर्षीय दिपेश बस्नेत, ४२ वर्षीय गोपाल सुवेदी र काभ्रेको बनेपा-१० घर भई थापागाउँ बस्ने ५५ वर्षीय रामकेशव थापा फरार छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यो घटनाको अनुसन्धान गरेको हो। आपराधिक विश्वासघात गर्न नहुने र संगठित अपराधसम्बन्धी कसुरमा ब्युरोले अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा मुद्दा बुझाएको थियो।

केहि दिन यता संचारमाध्यम बाट सुन प्रकरण मा मेरो नाम जोडिएर आईरहेको बिषय यस अघि नै प्रष्ट पारिसकेको जानकारी गराउन चाहान्छु । फेरी पनि थप स्पष्ट गर्न चाहान्छु कि यस कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहान्छु । जहा सम्म मैले फोन गरेको भनी मेरो नाम र उल्लेख गरिएको फोन नम्वर मेरो नभएको र मैले प्रयोग नगरेको पनि थप प्रष्ट पार्न चाहान्छु साथै आवश्यक परे निष्पक्ष छानबिनमा मा सहयोग गर्ने प्रतिबद्धता जनाउछु । अनावश्यक भ्रम मा नपर्न सबैमा हार्दिक आग्रह गर्दछु ।