सुन प्रकरण अनुसन्धानमा सिआइबी नहुनुले आशंका उब्जियो: नेता कोइराला

फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सय किलो सुन तस्करी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालको संलग्नता रहेको हुनसक्ने आशंका व्यक्त गरेका छन्।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले राजश्व अनुसन्धान विभाग मात्रै संलग्न गराइ सुन तस्करी प्रकरणको अनुसन्धान गर्नु र नेपाल प्रहरीलाई बाहिर राख्नुले आशंका उब्जिएको बताएका हुन्।

प्रहरीलाई अनुसन्धानमा संलग्न नगराइ राजश्व अनुसन्धान विभाग मात्रै संलग्न गराउनुको कारण सञ्चारमाध्यमहरूले खोज्नुपर्ने उनको भनाइ छ।

नेता कोइरालाले भने,भ्रष्टाचारले देशलाई हरेक क्षेत्रमा गाँजेको छ। एउटा प्रकरण निस्किन्छ,त्यो इस्यु अघि बढाउँदै गर्दा अर्को इस्यु आउँछ, पहिलाको इस्यु साइड लाग्छ।

भूटानी शरणार्थीपछि ललिता निवास जग्गा प्रकरण आयो,भुटानी शरणार्थी प्रकरण रोकियो। झ्याप्प किन रोकियो भने माथि कोही न कोही मान्छे परिरहेको हुन्छ।

सुन काण्ड आयो,मैले भनिरहनु पर्दैन,यो पनि सामसुम हुन्छ किनभने माथिल्लो कोही सहभागी हुन्छ। सुनकाण्डमा रोचक के छ भने सिबिआई सहभागी छैन। राजश्व अनुसन्धान मात्रै सहभागी छ।

उनले सुन समातिएको हप्ता दिन अघिसम्म प्रधानमन्त्री दाहालको स्वकीय रहेका (नवराज ढुंगाना) लाई राजश्व अनुसन्धानको प्रमुख बनाउनु र सुन तस्करी अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई सहभागी नगराउनुले प्रधानमन्त्रीमाथि आशंका उब्जिएको बताए।

नेता कोइरालाले संसद अवरोध गरेर मात्रै समस्याको समाधान नहुने बताए। उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरोध गरिरहेको प्रसंग निकाल्दै बोल्के कुरा संसदमा बोल्दा राम्रो हुने र त्यसमा सत्तापक्षका सांसदहरुले पनि आफ्ना धारणा राख्न पाउने पनि बताए।