सुन तस्करीमा माओवादी नेता भएपनि छोडिन्: उपाध्यक्ष श्रेष्ठ

फाइल तस्वीर

काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा माओवादी केन्द्रकै नेता भएपनि नछोड्ने चेतावनी दिएका छन्।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा बोल्दै श्रेष्ठले सुन तस्करी प्रकरणमा सरकारले गरिरहेको अनुसन्धान नरोकिने भन्दै यदि प्रमाण भेटिए पार्टीका नेता समेत कारबाहीमा पर्ने बताएका हुन्।

सुन तस्करी प्रकरणमा माओवादी नेता कार्यकर्ताकै संलग्नता रहेको भनेर प्रचार भइरहेपछि मन्त्री श्रेष्ठले यस्तो बनाएका हुन्। श्रेष्ठको यस्तो अभिव्यक्तिले जनतामा आशा पलाएको छ भने सुन तस्करी प्रकरणमा संलग्न माओवादीका नेताको ढयाङ्ग्रो बजेको छ।

श्रेष्ठले सरकारले गरेको कामको पार्टीकै नेता कार्यकर्ताले सामाजिक सञ्जालमा प्रचार नगरेको भन्दै गुनासो गरेका छन्। उनले आफ्नो नेतृत्वमा गृह मन्त्रालयले गरेका राम्रो कामको पार्टी कार्यकर्ता कसैले सामाजिक संजालमा स्टाटस नलेखेर प्रचार नगरेकोमा दुखेसो पोखेका हुन्।

उनले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सल्लाह गरेरै आफू अघि बढेकोमा पार्टीले स्वामित्व लिनुपर्नेमा जोड दिए। उनले भ्रष्टाचार विरोधी अभियानमा पार्टीकै भए पनि दोषीलाई नछोड्ने उद्घोष गरेका हुन्।

आजको बैठकको प्रारम्भमा श्रेष्ठले सरकारले गरेका कामकारबाहीका बारेमा जानकारी गराएका थिए। उनले सरकारको कामले जनतामा नयाँ आशा उत्साह ल्याएको उल्लेख गर्दै जनताको आशालाई पार्टी सङ्गठनमा रुपान्तरण गर्नुपर्ने बताए। उनले रुपान्तरणसहित पार्टीलाई पुनःनिर्माण गर्नुपर्नेमा जोड दिए।