प्रचण्डलाई जनार्दनको प्रश्न तपाईँले कुनचाहिँ मोडमा मेरो समर्थन पाउनुभएन

फाइल तस्वीर

काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठकको चौथो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन्।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राखिरहेका हुन्।

बुधबारदेखि सुरु भएको बैठकमा शुक्रबारसम्म एक सय ४२ जनाले उक्त प्रस्तावमा आधारित रहेर धारणा राखेकोमा बाँकी सदस्यहरुले शनिबार धारणा राखिरहेका हुन्। धारणा राख्न प्रत्येक सदस्यलाई ५ मिनेटको समय निर्धारण गरिएको छ।

धारणा राख्नेक्रममा उपमहासचिव जनार्दन शर्मा आफूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई असहयोग नगरेको भन्ने विषयमा प्रस्टीकरण दिए।

उनले भने, ‘अध्यक्षले चाहँदा, परिस्थितिले माग गर्दा, वैचारिक राजनैतिक निर्णय लिँदा, गठबन्धन बनाउँदा, जतिखेर पनि खटनपटनमा लागेकै छु।

स्वतन्त्र व्यक्ति राष्ट्रपति बनाउनु हुँदैन,पार्टीबाट बनाउनुपर्छ,सभामुख र राष्ट्रपति एउटै पार्टीको बनाए थप समस्या आउँछ भनेर तैँले बाहिर बोल र वातावरण बना भनी अध्यक्षले आदेश दिँदा आफ्नो मत थाँती राखेर भएपनि त्यसको पालना गरेको छु।

परिस्थिति अदल बदल गर्नुपर्दा र संकट आइपर्दा अध्यक्षको पक्षमा खडा हुँदै आएको बताउँदै उनले भने,होला कहिलेकाहीँ आँखा जुधाएर कुरा गर्न मन लाग्छ, गरिन्छ पनि।

तर,त्यसैलाई असहयोग गर्यो भनेर नेतृत्वको आडमा नानाथरी बिल्ला भिराएर प्रचारबाजी गरिन्छ।उनले अध्यक्ष प्रचण्डमाथि प्रश्न गर्दै भने,अध्यक्ष कमरेडले भन्नुपर्यो– कुनचाहिँ अप्ठेरो मोडमा तपाइँले मेरो साथ र समर्थन पाउनु भएन।

त्यस्तै उपमहासचिव वर्षमान पुनले आफ्नो बाँकी जीवन पार्टी र मुलुक निर्माणमै लगाउने प्रतिबद्धता व्यक्त गर्दै हाल पार्टी पुनर्निर्माणको चरणमा रहेको बताए।

सरकारको राम्रो काम पार्टीभित्रको शुद्धीकरणको अभियान रहेको बताउँदै उनले भने, ‘हामी पार्टी विघटनको होइन,पुनर्निर्माणको चरणमा छौँ। सरकारले राम्रो काम गरिरहेको छ। सरकारको भ्रष्टाचार विरोधी अभियान हामी सबैको शुद्धीकरणको अभियान हो।

यस्तै, केन्द्रीय सदस्य कुलप्रसाद केसीले आफ्नो धारणा राख्दै पार्टीमा सहकर्मी सहयोद्धाका बीचमा निषेधात्मक र दुष्मनीपूर्ण सम्बन्ध हुनु दु:खद् रहेको बताए। बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्य तथा पदाधिकारीले पार्टीलाई सुधार गर्नुपर्नेमा जोड दिएका छन्।

बैठकमा तीन सय ८७ पूर्ण र एक सय ९६ वैकल्पिक केन्द्रीय सदस्यका साथै अनुशासन, लेखा र निर्वाचन आयोगका ४१ सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता रहेको छ।

केन्द्रीय सदस्यहरुको बोल्ने समय अपुग देखिएपछि बैठक लम्बिन सक्ने भएको छ। त्यसका लागि आजै साँझ निर्णय हुने बताइएको छ।