एक क्विन्टल सुन प्रकरण: छानविन गर्न वर्षमान पुनको आग्रह

काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले एक क्विन्टल सुन प्रकरणको छानविन प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन्। बुधबारदेखि जारी केन्द्रीय समिति बैठकमा शनिबार आफ्नो धारणा राख्दै उनले छानविन प्रक्रिया अगाडि बढाउन आग्रह गरेका हुन्।

उक्त सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङसँग पुनको तस्बिर सार्वजनिक भएका छन्। बैठकमा केन्द्रीय सदस्यहरूले सुन काण्डमा मुछिएका नेताहरूले मिडियामा विज्ञप्ति जारी गरेर नहुने भन्दै सीआईबीमा निवेदन दिनुपर्ने धारणा राखेका थिए।

जवाफ उपमहासचिव पुनले दोषी प्रमाणित भए कानुनी कठघरामा उभिन तयार रहेको बताए।यसअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा माओवादीकै नेता भएपनि नछोड्ने चेतावनी दिएका थिए।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा बोल्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणमा सरकारले गरिरहेको अनुसन्धान नरोकिने भन्दै प्रमाण भेटिए पार्टीका नेतालाई समेत कारबाही गर्ने बताए। एक क्विन्टल सुन तस्करी प्रकरणमा माओवादी नेताहरु समेत जोडिएको भन्दै छानविन गर्न माग उठ्दै आएको छ।

शुक्रबारको बैठकमा माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरामाथि समेत छानविन गर्नुपर्ने आवाज उठेको थियो। तर भनेजस्तो व्यवाहारमा आफ्ना नेतामाथि अनुसन्धान गर्न चासो नखिएको गृहमन्त्रीमाथि आरोप लाग्न थालेको छ।