हुम्लाको सर्केगार्ड गाउँपालिकामा एक दम्पतीको तेह्र वर्षदेखि जङ्गलमा बास,सम्बन्धित गाउँपालिकाको बेवास्ता

काठमाडौं।हुम्लाकाे सर्केगार्ड गाउँपालिकामा एक दम्पती १३ वर्षदेखि जङ्गलमा बास बस्दै आएको पाइएको छ। गाउँमा भएको घर बर्खामा भत्किएपछि ती दम्पती जङ्गलमा झुपडी बनाएर बस्दै आएका हुन्।

त्यस्तै सर्केगार्ड गाउँपालिकाले पीडित दम्पतीलाइ गाउँ ल्याउन कुनै पनि किसिमकाे चासाे देखाएकाे छैन। स्थानीय सरकारले जनतासँग प्रत्क्ष सराेकार राखेर सुख दु:खमा साथ दिनु पर्नेमा सर्केगार्ड गाउँपालिकाकाे भने जनता प्रतिकाे आफ्नो जिम्मेवारीबाट पन्छिएकाे छ। 

सर्केगार्ड गाउँपालिका–३ को उनापानी गाउँको कलिवान फडेरा र च्यापु फडेरा जङ्गलमा बस्दै आएका हुन्। फडेरा दम्पतीले गाउँबाट एक घण्टा टाढाको जङ्गलमा झुपडी बनाएर बस्दै आएको बताए। उमेरले उनीहरू कलिवान ७४ वर्ष र च्यापु ६४ वर्षका छन्।

कलिवानले १३ वर्ष अगाडि उनापानी गाउँमा रहेको घर बर्खाको पानीले भत्काएपछि फेरि बनाउन नसक्ने भएका कारण जङ्गलमा झुपडी बनाएर बस्नुपरेको बताए।

भएको खेतबारीमा खेतीपाती गर्न नसकिने अवस्था भयो। त्यसै कारण जङ्गलमा आएर बस्न थाल्यौँ,उनले भने। उनीहरूका एक जना छोरा भए पनि नौ वर्षदेखि नआएको गुनासो उनीहरूको छ।

छोरा पेमा फडेरा पनि चार वर्षसम्म भने उनीहरूसँगै जङ्गलमै बसेका थिए। घरबाट निस्केको छोरा फेरि घरमा आएको छैन। छोरो कामका लागि भारत गएको जानकारी फडेरा दम्पतीले पाएको भए पनि हालसम्म सम्पर्क भने हुन सकेको छैन।

श्रीमती च्यापुले श्रीमान् आँखा कम देख्ने भएका कारण घरको सम्पूर्ण काम आफैँले गर्नुपर्ने बताइन्। गाउँले र आफन्तले उनीहरूलाई गाउँमा फर्कनका लागि निकै आग्रह गरेको भए पनि सो जोडीले गाउँमा जान भने अस्वीकार गर्दै आएका छन्।

फडेरा दम्पतीलाई जङ्गलमा बास बस्नुपरेपछि दैनिक गुजारा चलाउने माध्यम भने नेपाल सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता भएको छ।

पहिले कलिवान फडेराले मात्र सो भत्ता पाउने गरेकामा पाँच वर्षदेखि भने दुवै जना सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छिन्। उनीहरूका दम्पतीले वृद्धभत्ताबाट लुगाफाटो र घर खर्च चलाउँदै आएकाे बताएका छन्।