मन्त्रिपरिषद् हेरफेर गर्दै प्रधानमन्त्री प्रचण्ड: दुई नयाँ मन्त्री नियुक्त हुने

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेर गर्दै छन्। दुई मन्त्रीलाई फिर्ता बोलाएर नयाँ दुई सांसदलाई मन्त्रीमा प्रधानमन्त्री प्रचण्डले नियुक्त गर्दैछन्।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सांसद हितबहादुर तामाङ र जनमत पार्टीकी सांसद अनितादेवी साहलाई प्रचण्डले मन्त्री नियुक्त गर्न लागेको स्रोतको दाबी छ।तामाङ नुवाकोट–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् भने साह जनमत पार्टीबाट समानुपातिक सांसद हुन्।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीमध्ये दुई जनालाई फिर्ता बोलाएर नयाँ दुई मन्त्री नियुक्त गर्नेबारे आन्तरिक तयारीमा प्रधानमन्त्री प्रचण्ड रहेका छन्।

प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार सम्भवतः आइतबार नै मन्त्रिपरिषद् हेरफेर हुनेछ। दुई जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ दुई जना मन्त्री नियुक्त गर्ने तयारीमा प्रधानमन्त्री रहेका छन्। यो समाचार आजको राजधानी दैनिकमा छ।