दोलखामा पहिरोले परिएर बाबु–छोरा बेपत्ता

काठमाडौं। दोलखामा आइतबार गएको पहिरोमा परेर दुइजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा जिल्लाको उत्तरी भेगमा रहेको बिगु गाउँपालिकाको वडा नम्बर ७ को मगर वस्ती गाउँका ३५ वर्षीय निङ दोर्जे शेर्पा र उनका छोरा १३ वर्षीय पासङ शेर्पा रहेको बिगु गाउँ पालिकाका अध्यक्ष सन्जिव ओलीले जानकारी दिए।

उनका अनुसार निउरो टिप्न गएका बाबु–छोरा बिहान ११ बजेतिर गएको माथिबाट खसेको पहिरोमा परेर वेपत्ता भएका र उनीहरुसँगै निउरो टिप्न गएका २३ वर्षीय दिल बहादुर धामीले भने भागेर ज्यान जोगाउन सफल भएका छन्।

घटनास्थलमा एउटा चप्पल र हँसिया भेटिएको र अहिले घटनास्थल नजिकैको वडा प्रहरी कार्यलय चिलन्खाका प्रहरीहरुले खोजी कार्यमा खटिएका थप मद्धतको लागि इलाका प्रहरी कार्यलय सिङ्गटीबाट थप प्रहरी बोलाइएको ओलीले बताए।

सो क्षेत्रमा शनिबार राती देखीनै पानी परिरहेकाले थप स्थानमा पनि पहिरोको जोखिम उच्च रहेकाले सर्तक रहन गाउँपालिकाले सर्वसाधरणहरुमा आग्रह गरेको छ।