ललिता निवास जग्गा प्रकरणको फाइल सीआईबीले बुझायो,उच्च ओहोदाका यी व्यक्ति फन्दामा पर्दै

फाइल तस्वीर

काठमाडौं । बालुवाटास्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान फाइल सरकारी वकिलको कार्यालयमा पुगेको छ। सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान फाइल सरकारी वकिलको कार्यालयमा बुझाएको हो।

सीआईबीले बुझाएको अनुसन्धान फाइलमा के–के समेटिएको छ त? प्रतिवादीहरु को–को छन्?अनुसन्धान फाइलमा उच्च ओहोदामा बसिसकेका मध्ये कुन–कुन व्यक्तिको नाम समेटिएको छ त ?

बालुवाटास्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान फाइल सरकारी वलिकको कार्यालयमा पुगेसँगै अब यसमाथिको अध्ययन र अध्ययन पश्चात मुद्दा दर्ताको प्रकृया शुरु हुँदैछ।

ओहोदामा रहेका क-कसको नाम छ ?

– ललिता निवासको जग्गा हिनामिनामा तीनजना पूर्वभूमिसुधार मन्त्रीहरुलाई समेत सीआईबीले प्रतिवादी बनाएको छ।

– प्रतिवादी बनाइएका पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी हुन्।

– उनीहरुलाई फरार सूचीमा राखेर प्रतिवेदन बुझाइएको छ।

– यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यी मन्त्रीहरुविरुद्ध मुद्दा चलाएको थियो।

– त्यसबेला यी सबै धरौटी बुझाएर रिहा भएका थिए।

अहिले प्रतिवेदनमा यि पूर्वमन्त्रीहरुलाई फरार सूचीमा राखिएपनि चन्द्रदेव जोशीले भने गत साउन २६ गते नै आफू फरार नरहेको बताउँदै जुनसुकै बेला सरकारी निकायलाई सघाउन तयार रहेको उल्लेख गरेका थिए।

पूर्वमन्त्री जोशी सोमबार पनि बयानका लागि महाराजगञ्जस्थित सीआईबीको कार्यालयमा हाजिर भएका थिए। तर सीआईबीले अनुसन्धान फाइल सरकारी वकिलकोमा पुगिसकेको भन्दै उनको बयान लिएन र उनी यसै फकिए। सीआइबीकै कार्यालयमा पुगेका पूर्वमन्त्री जोशीलाई सीआईबीको प्रतिवेदनले फरार देखाएको छ।

ललिता निवास जग्गा हिनामिना प्रकरणमा सर्वोच्च अदालतले यसअघि साउन २१ गते आदेश दिएको थियो। सर्वोच्चको आदेश आएकै दिन सीआईबीले यी तीन मन्त्रीविरुद्ध काठमाडौं जिल्ला अदालातबाट पक्राउ पुर्जी लिएको थियो।

तर उनीहरुलाई पक्राउ गरिएको भने छैन। यसै प्रकरणमा हाल जेलमा रहेका पूर्वराज्यमन्त्री सञ्जय साहसँग भने सीआईबीको टोलीले बयान लिएको छैन ।

– यस प्रकरणमा मुछिएका उच्च ओहोदामा रहिसकेका व्यक्तिहरु मध्ये पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा। बाबुराम भट्टराई पनि हुन्।

– माधव र बाबुरामसँग उनीहरुकै निवासमा आइतबार बेलुका पुगेर सीआईबीले बयान लिएको थियो ।

– तत्कालीन मुख्यसचिव लीलामणि पौडेल पनि ललिता निवास जग्गा हिनामिना प्रकरणमा जोडिएका व्यक्ति हुन् ।

– सीआईबीले उनलाई पनि कार्यालयमै बोलाएर कागज गराउँदै छाडिसकेको छ ।

ललिता निवास प्रकरणमा बहालवाला सञ्चार सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीर कुमार शाहसहित १७ जना पक्राउ परेका थिए।

सञ्चार सचिव राउत भने छुटिसकेका छन् । कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी अदालतको स्टे अर्डरका आधारमा छुटेका छन् ।

ललिता निवास क्याम्पभित्रको १ सय ४३ रोपनी जग्गा किर्ते गरी हिनामिना गरेको अभियोगमा सीआईबीले प्रतिवादी बनाइएकाहरुसँगबाट करिब १० अर्ब रुपैयाँ बराबरको बिगो दाबी गरेको छ। सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालले अब मुद्दा अगाडि बढाउने छ।