एसिया कप आज उद्घाटन हुँदै,नेपाललाई नयाँ इतिहास कोर्ने अवसर

काठमाडौं ।एसिया कपको १६ औं संस्करण आजदेखि सुरू हुँदै छ। पाकिस्तानको मुल्तानमा अपराह्न तीन बजे एसिया कपको उद्घाटन खेल हुँदैछ।

एसिया कप–२०२३ को उद्घाटन खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले आज एकदिवसीय वरीयताकै शीर्ष स्थानको पाकिस्तानविरुद्ध चुनौती प्रस्तुत गर्दै छ।

एसिया कपमा ‘डेब्यू’ गर्न लागेको नेपाली टिमले सन् १९९२ को विश्वकप विजेतासमेत रहेको पाकिस्तानविरुद्ध पनि पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेटमा प्रतिस्पर्धा गर्न लागेको हो।

एकदिवसीय वरीयताको १५औँ स्थानमा रहेको नेपालले आफ्नो क्रिकेट इतिहासमै पहिलोपटक शीर्ष स्थानमा रहेको टिमविरुद्ध खेल्दै छ। आजको खेल जिते नेपाली क्रिकेटले नयाँ इतिहास रच्ने छ। उसो त नेपाली टिममा आत्मविश्वास पनि देखिन्छ। 

“नेपालमा हामीबाट ठूलो अपेक्षा छ। सबै नेपालीले यो एसिया कपका बारेमा सपना देखिरहेका छन्। हामी दुई दशकदेखि क्रिकेट खेलिरहेका छौँ। र, एसिया कपजस्तो उच्चस्तरमा आफ्नो देशको प्रतिनिधित्व गर्न पाउनु ठूलो कुरा हो,प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले भनेका थिए।

हामी पहिलोपटक एसिया कप खेलिरहेका छौँ । यो हामी सबैका लागि ठूलो उपलब्धि हो। हाम्रा लागि यो विशेष अवसर पनि हो। पाकिस्तान निकै राम्रो टिम हो र हामी उनीहरूलाई प्रतिस्पर्धात्मक खेल दिन चाहन्छौँ,भारतविरुद्ध पनि। हामी यहाँका लागि योग्य थियौँ। त्यसैकारण आज यहाँ छौँ। उनीहरूसामु चुनौतीपूर्ण खेल पस्किने छौँ,रोहितले थपे।

पाकिस्तानी टिमको कप्तानी सम्हालिरहेको बाबर आजम एकदिवसीय ब्याटिङ वरीयताको शीर्ष स्थानका ब्याटर हुन्। नेपालविरुद्धको खेलका लागि पाकिस्तानले आफ्नो प्लेइङ–११ु सार्वजनिक गरिसकेको छ।

जसमा बाबरबाहेक इमाम उल हक (तेस्रो) र फकर जमान (पाँचौँ) गरी एकदिवसीय ब्याटिङ वरीयताको शीर्ष १० भित्र रहेका दुई ब्याटर छन्। बलिङतर्फ साहिनसाह अफ्रिदी एकदिवसीय बलिङ वरीयताको नवौँ स्थानमा छ।

नेपालले पहिलोपटक एसिया कप खेल्दैगर्दा पाकिस्तान भने १५ वर्षपछि क्रिकेटको कुनै ठूलो प्रतियोगिताको आयोजक बन्दै छ। यसैकारण सफल आयोजकमा नाम लेखाउने दौडमा रहेको पाकिस्तानका लागि पनि यो खेल निक्कै महत्त्वपूर्ण छ।

नेपाल र पाकिस्तानबीचको यो ऐतिहासिक खेल मुल्तानस्थित मुल्तान क्रिकेट रंगशालामा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु हुँदै छ।

प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा पाकिस्तान कप्तान आजमले पनि नेपाललाई सहज रूपमा नलिएको प्रतिक्रिया दिएका थिए।

मलाई ठ्याकै मिति थाहा छैन। तर,पछिल्लोपटक मैले नेपालविरुद्ध पाकिस्तानको यू–२३ टिमबाट खेलेको थिएँ। त्यसकारण अहिलेको टिममा धेरैजसो खेलाडी त्यसबेलाकै थिए भन्ने लागेको छ। उनीहरूसँग राम्रा खेलाडीहरू छन्।

त्यसकारण हामी कहिल्यै उनीहरू (नेपाल) लाई सहज रूपमा लिँदैनौँ । हामी उनीहरूविरुद्ध बेस्ट क्रिकेट खेल्न चाहन्छौँ,नेपाली टिमको बारेमा प्रश्न गर्दा पाकिस्तानी कप्तान बाबरले भनेका थिए।

गत वैशाख १९ गते घरेलु मैदानमै भएको एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपालले एसिया कपमा स्थान सुनिश्चित गरेको थियो। प्रिमियर कपको उपाधि जितेपछि भारत र पाकिस्तानसँग पहिलोपटक आमनेसामनेको अवसर पाएको नेपाली टिम गत हप्ता नै पाकिस्तानको यात्रामा निस्किएको थियो।

पाकिस्तानी कप्तान आजमले क्रिकेटमा कुनै पनि टिमलाई कमजोररूपमा लिन नहुने भन्दै नेपालसँगको खेलका लागि पनि अन्य टिमविरुद्ध जसरी नै योजना बनाएको बताए।

क्रिकेटमा कुनै पनि टिमलाई सहजरूपमा लिन सकिँदैन। एक क्रिकेटरको रूपमा कसैलाई पनि सहज रूपमा लिनु हुँदैन भन्ने मैले सिकेको छु।

विपक्षी जस्तो भए पनि त्यसका लागि पूरा योजना बनाउन पर्दछ, जसरी अन्य टिमविरुद्ध बनाइन्छ। हामीले योजना बनाएका छौँ। उनीहरू (नेपाल) को कुन क्षेत्र बलियो र कुन क्षेत्र कमजोर भन्नेबारे अध्ययन गरेका छौँ र त्यसअनुसारको रणनीति बनाएका छौँ,बाबर थप्छन्।

नेपाली टिमले एसिया कपमा स्थान बनाएको यो पहिलो पटक भने होइन। २१ वर्षअघि पनि नेपाल एसिया कपका लागि छनोट भएको थियो,सन् २००१ मा भएको एसीसी ट्रफीको उपविजेताको रूपमा।

तर, भारत–पाकिस्तानको खिचातानीको कारण नेपालले त्यसबेला अवसरको उपयोग गर्न पाएन। भारत–पाकिस्तानको राजनीतिक विवाद चरम अवस्थामा पुगेपछि सन् २००२ मा आयोजना हुने भनिएको प्रतियोगिता नै रद्द भयो।

यस संस्करणमा पनि सुरुआती समयमा अवस्था लगभग उस्तै बन्ने देखिन्थो। पाकिस्तानमा आयोजना हुने तालिका रहेका कारण भारतीय टिमले सरकारबाट छिमेकी देशको यात्राका लागि अनुमति पाएन।

पाकिस्तान कसैगरी पनि प्रतियोगिताको आयोजकमा आफ्नो नाम लेखाउन चाहन्थ्यो । क्रिकेट महाशक्तिबीचको शक्ति संघर्षका कारण अहिलेको संस्करण पनि रद्द हुने संघारमा पुगिसकेको थियो। तर, पाकिस्तान केही लचिलो बन्दै प्रतियोगिताका लागि ‘हाइब्रिड मोडेल’को प्रस्ताव गर्‍यो।

पाकिस्तानको यो मोडेल अनुसार प्रतियोगिताका चार खेल पाकिस्तानमा र बाँकी खेलहरू श्रीलंकामा हुने सहमति बनेको छ। पाकिस्तानमा चार खेल हुने भए पनि भारतले भने आफ्नो सबै खेल श्रीलंकामा खेल्ने छ। पाकिस्तानले प्रस्ताव गरेको ‘हाइब्रिड मोडेल’मा भारत सहमत भएसँगै प्रतियोगिताबारे उब्जिएका शंका–उपशंका मेटिएको थियो।

जे होस्, आज नेपाली टिममात्र होइन समर्थकले पनि क्रिकेट इतिहासमा एउटा नयाँ अनुभव गर्दै छन्। विश्वको नम्बर वानु टिमलाई पन्छाउन सजिलो नभए पनि असम्भव भने नरहेको पाकिस्तानकै कप्तानले अप्रत्यक्षरूपमा बताइसकेका छन्।

एसिया कपको सम्पूर्ण जानकारी  

सहभागी टिम
अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी पाँच टेस्ट तथा छनोट प्रतियोगिता जितेको नेपालले गरी ६ देशले एसिया कप २०२३ भाग लिँदैछन्।

आयोजक
पाकिस्तान र श्रीलंका एसिया कप २०२३ को सह-आयोजक हुन्। एसिया कपको मूल आयोजक पाकिस्तान भए पनि राजनीतिक कारणले भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेको थियो। त्यसैले खेलहरु श्रीलंकामा पनि हुन लागेका हुन्। भारतले एसिया कप २०२३ का सबै खेल श्रीलंकामा खेल्दैछ।

फर्म्याट
एसिया कप २०२३ का खेलहरु ५० ओभरको हुनेछन्। सन् २०१८ पछि पहिलोपटक ५० ओभरको एसिया कप हुन लागेको हो।

खेल समय र प्रत्यक्ष प्रसारण

एसिया कपका सबै नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछन्। नेपालमा स्टार स्पोर्ट्स नेटवर्कबाट प्रत्यक्ष खेल हेर्न सकिनेछ।

प्रतियोगिताको समूह विभाजन र फाइनल पुग्ने समिकरण
६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन्। समूह बीु मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन्।

प्रत्येक टिमले आफ्नो समूहको अर्को टिमसँग एक पटक खेल्नेछन्। प्रत्येक समूहका शीर्ष दुई टिम सुपर-फोर चरणमा प्रवेश गर्नेछन्। त्यहाँ चार टिमले एक अर्कासँग खेल्नेछन् र शीर्ष दुई टिम फाइनलका लागि छनोट हुनेछन्।

खेल मिति

भदौ १३ मा नेपालले मुल्तानमा पाकिस्तानसँग खेलेर सुरु हुने प्रतियोगिताको फाइनल खेल भदौ ३१ मा श्रीलंकामा हुनेछ। प्रतियोगितामा फाइनलसहित १३ खेलहरू हुनेछन्।

नेपालको पहिलो सभागिता

यो वर्ष नेपालले एसिया कपमा डेब्यू गर्दैछ। गत अप्रिल-मेमा नेपालमा भएको एसिसी पुरुष प्रिमियर कप जितेर नेपाल एसिया कपका लागि छनोट भएको थियो।

छनोट प्रतियोगितामा १० टिमको सहभागिता थियो र फाइनलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको थियो।

नेपाल हाल आइसिसी एकदिवसीय वरीयतामा १५ औं स्थानमा छ र एसिया कपमा २० वर्षीय रोहित पौडेलको नेतृत्वमा खेल्नेछ।

नेपालका खेल
नेपाल भर्सेस पाकिस्तान ( भदौ १३ (पाकिस्तान, मुल्तान)

नेपाल भर्सेस भारत ( भदौ १८ (श्रीलंका, क्यान्डी)

नेपाली टिम

रोहित पौडेल (कप्तान),आसिफ शेख, कुशल भुर्तेल,ललित राजवंशी,भीम सार्की,कुशल मल्ल,दीपेन्द्रसिंह ऐरी,सन्दीप लामिछाने,करण केसी, गुल्सन झा,आरिफ शेख,सोमपाल कामी,प्रतिश जिसी,किशोर महतो,सन्दीप जोरा,अर्जुन साउद,श्याम ढकाल।

भारत र पाकिस्तानको खेल
एसिया कप २०२३ मा भारत र पाकिस्तान तीन पटक खेल्ने सम्भावना छ। समूह चरणमा पहिलो पटक खेलेपछि उनीहरू सुपर-फोर र फाइनलमा भिड्न सक्नेछन्। यसो हुन समूह चरणमा नेपाल बाहिरिनु पर्दा सुपर-फोरमा अफगानिस्तान, बंगलादेश र श्रीलंका मध्ये दुई टिमलाई पाखा लगाउनु पर्नेछ।

इंग्ल्यान्डमा सन् २०१९ एकदिवसीय विश्वकप खेलेपछि भारत-पाकिस्तान पहिलो पटक एकदिवसीय खेलमा भिड्न लागेका हुन्।

गत वर्षको टी-२० एसिया कपमा भारत र पाकिस्तान दुई पटक भिडेका थिए। पहिलो खेलमा भारतले पाँच विकेटको जित निकाल्दा पाकिस्तानले सुपर फोरको खेल पाँच विकेटले नै भारतलाई हराएको थियो।

खेल तालिका
नेपाल भर्सेस पाकिस्तान -भदौ १३ (पाकिस्तान, मुल्तान)

बंगलादेश भर्सेस श्रीलंका – भदौ १४ (श्रीलंका, क्यान्डी)

पाकिस्तान भर्सेस भारत -भदौ १६ (श्रीलंका, क्यान्डी)

बंगलादेश भर्सेस अफगानिस्तान -भदौ १७ (पाकिस्तान, लाहोर)

नेपाल भर्सेस भारत -भदौ १८ (श्रीलंका, क्यान्डी)

अफगानिस्‍तान भर्सेस श्रीलंका -भदौ १९ (पाकिस्तान, लाहोर)

सुपर फोर -भदौ २० देखि भदौ २९ सम्म

फाइनल – भदौ ३१