नेपालको चुच्चे नक्सालाई मान्यता नदिएसम्म चीन भ्रमणमा प्रधानमन्त्रीले जानु हुँदैन: सांसद शाही

फाइल तस्वीर

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक तथा सांसद ज्ञानबहादुर शाहीले चीनले नेपालको चुच्चे नक्सालाई मान्यता दिएमात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणमा जान मिल्ने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको तयारी भइरहँदा प्रमुख सचेतक शाहीले नेपालको चुच्चे नक्सा चीनले स्वीकार गरेमात्रै सो भ्रमणमा जान मिल्ने जिकिर गरेका हुन् । अन्यथा प्रधानमन्त्री प्रचण्डमाथि तत्कालीन मन्त्रीपरिषद् र संसद्को शतप्रतिशत मतले पारित गरेको सो चुच्चे नक्सालाई अस्वीकार गरेको ठहर्ने उनको भनाई थियो ।

सोमबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मी माझ प्रमुख सचेतक शाहीले चीनले नेपालको चुच्चे नक्सा सार्वजनिक नगर्दै सो देशको भ्रमणमा गए उनको राष्ट्रवादमाथि पनि प्रश्न उठ्ने बताए ।

प्रमुख सचेतक शाहीले प्रधानमन्त्री प्रचण्डले सत्ता टिकाउने कामका लागि विदेश भ्रमण गर्न नहुने पनि बताए ।