बालुवाटारको जग्गा छिट्टै सरकारका नाममा आउने गृहमन्त्री श्रेष्ठको दाबी

फाइल तस्वीर

काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालुवाटारको जग्गा छिट्टै सरकारको नाममा आउने बताउनुभएको छ।

बुधबार सामुदायिक रेडियो माडीको १३ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले प्रभावशाली राजनीतिक व्यक्ति मिलेर बालुवाटारको जग्गा व्यक्तिको नाममा लैजाने काम गरेकाले त्यसलाई निस्तेज पारेर सरकारको नाममा ल्याइने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,भ्रष्टाचारको जालोलाई निर्मूल पार्ने योजना रहेकाले विचलित नभई काम गर्ने छौँ । भ्रष्टाचारविरोधी अभियानबाट विश्राम नलिई अगाडि बढ्ने छौँ ।

उहाँले भ्रष्टाचार नियन्त्रण सजिलो बाटो नभएको उल्लेख गर्दै यथास्थितिको सामु लम्पसार हुने काम वर्तमान सरकारबाट हुन नसक्ने स्पष्ट पार्नुभयो । सबै अपराधी र तस्करलाई कानुनी कठघरामा उभ्याइन्छ,उहाँले भन्नुभयो ।

उहाँले ६० केजी सुन तस्करीका बारेमा जरासम्म पुग्ने काममा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) अनुसन्धानरत रहेको जानकारी दिँँदै अनुसन्धान छिटै निष्कर्षमा पुग्ने बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो,अहिले देखिएका घटनाबाहेक अन्य घटनामा छानबिन गरेर भ्रष्ट र अपराधीलाई कानुनी दायरामा ल्याउने छौँ ।

उहाँले भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्नेलाई घेराबन्दी गर्ने र भ्रष्टाचारका मुख्य नाइकेलाई बचाउने षड्यन्त्र भइरहेको भन्दै आफूहरू यस्तो षड्यन्त्रबाट पछाडि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले आफूहरूले नयाँ ढाँचाको आर्थिक विकास र समृद्ध नेपाल बनाउन चाहेको चर्चा गर्दै कर्मचारी र दलका नेताको चाकडी गर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताउनुभयो ।

उहाँले सर्वोच्च अदालतको आदेशका कारण सुकुमवासीलाई लालपुर्जा वितरण रोकिएको जानकारी दिँदै अदालतको आदेशको अध्ययन गरी लालपुर्जा वितरणको वातावरण बनाइने बताउनुभयो ।