महिला टि२० विश्वकप खेल्ने नेपालको सपना समाप्त

फाइल तस्वीर

काठमाडौं। आइसिसी महिला टि२० विश्वकप खेल्ने नेपाली महिला क्रिकेट टोलीको सपना समाप्त भएको छ।एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा थाईल्यान्डसँग ४६ रनले पराजित हुँदै नेपाल बाहिरिएको हो। यो सँगै २०२४ मा हुने ग्लोबल टि२० छनोट हुँदै विश्वकप खेल्ने नेपालको सपना एसिया क्षेत्रिय छनोटमै समाप्त भएकोछ।

जितको लागि १ सय ६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा ५९ रनमा अल आउट भयो । नेपालको लागि कविता कुँवरले २० बलमा २ चौकासहित सर्वाधिक १७ रनको योगदान दिइन। कविता जोशी र अप्सरी बेगमले समान १० रन बनाए । अन्य कुनैपनि नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

नेपालले ओपनर काजोल श्रेष्ठलाई तेस्रो बलमै शून्यमा गुमाएको थियो। काजोल नाट्या बुचथमको बलमा चानिदाबाट क्याच आउट भएकी थिइन। दोस्रो ओभरमा थिपाचा पुथावोङले इन्दु र रुविना दुई प्रमुख ब्याटरलाई आउट गर्दै नेपालको जितको सम्भावना कठिन बनाएकी थिइन्।

दोस्रो ओभरमा इन्दु बर्मा तीन रनमा क्याच आउट भइन। कप्तान रुविना क्षेत्री शून्यमा एलबीडब्लू आउट भएपछि नेपाल सुरुवातमै संकटमा पुगेको छ।

पाँचौं ओभरमा फनिता मायाको बलमा सीता रानामगर एज लागेर विकेटकिपर सुवानाबाट क्याच आउट भएपछि नेपालको जितको सम्भावना लगभग सकिएको थियो।

नेपालको भ्रदगोल ब्याटिङक्रमले सेमिफाइनल खेलमा पनि निरन्तरता पायो। ओपनर विन्दु रावललाई सातौं नम्बरमा खेलाएपनि उनले खाता खोल्न सकिनन्। यसअघि उनलाई नेपालले नवौं नम्बरमा समेत खेलाएको थियो। पुजा महतो ४ र अश्मिना कर्माचार्य ३ रनमा आउट भइन।

थाईल्यान्डकी ओनिचा कम्चोम्फुले ३ ओभरमा ६ रन खर्चेर ३ विकेट लिइन। थिपाच्चा पुथावोङले ३।३ ओभरमा १ मेडनसहित ५ रन खर्चेर ३ विकेट लिइन। नाट्या बुचथमले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिइन्।

त्यसअघि मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थाईल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ५ रन बनाएको थियो। नेपालको कमजोर ब्याटिङलाई उक्त योगफल जित निकाल्न पर्याप्त थियो।