धितो भिडाउन चोकचोकमा ग्राहक खोज्दै बैंकका कर्मचारी?

अहिले बैंकका कर्मचारीहरु घरजग्गा किन्ने ग्राहक खोजेर हिँडिरहेका छन्। लिलामीमा राखिएको घरजग्गा बिक्री नभएपछि बैंकका कर्मचारीहरु आफैं खटिएका हुन्। सार्वजनिक ठाउँ, चिया पसलमा बैंकका कर्मचारीहरु विभिन्न ‘अफर’ सहित हिँडेको भेटिन्छ। आधा पैसा दिनुस् बाँकी बैंकबाट कर्जा मिलाइदिन्छौं भनेर उनीहरु ग्राहकलाई फकाउने काम गरिरहेका छन्।

हिजो दलालीको भर पर्दा आज सबै फसेका छन्। चाहे त्यो बैंक होस् या व्यक्ति अहिले घाँडो बनेको अवस्था छ। एक करोड नजाने घरलाई दलालीले रातारात तीन करोड पुर्याए। जग्गामा पनि त्यस्तै भयो। दलालीहरुले दिनको दुई गुणा र रातको चौगुणा भाउ बढाउँदै लगे । बैंकबाट कर्जा मिलाइदिने भन्ने अनि सोझासाझी ठग्ने काम तीन वर्ष अगाडिसम्म व्यापक भइरहेको थियो।

बैंक तथा वित्तिय संस्थामा त्यही घरजग्गा राखेर व्यक्तिले कर्जा लिए। आफूसँग भएको पैसा पनि घरजग्गामै हाले, यता अपुग भएर बैंक तथा सहकारीबाट समेत ऋण लिइयो । सबैले घरजग्गामा नाफा हुने देखेकाले त्यसमै लगानी गरे । जीवनभरको कमाइ र बैंकबाट ऋण लिँदै घरजग्गामा खन्याइयो । केही समय घरजग्गा कारोबार फस्टायो। तर, सँधै बजार उही रफ्तारमा चल्दैन् भन्ने उनीहरुले बुझेनन्।

कर्जा तिर्न नसकेर अहिले ऋणीहरुले हात उठाएको अवस्था छ। बैंकहरुसँग धितो तान्नेबाहेक अन्य कुनै विकल्प छैन् । एकातिर ऋणीहरु सोत्तर भए भने अर्कोतिर बैंकलाई तानेको धितो लिलाम गर्नकै सास्ती छ। कसलाई लगेर भिडाउने भइरहेको छ, बैंकलाई । यता, ऋणीहरु पनि चुलुम्मै भएका छन्। बैंकले धितो तानेपछि ऋणीहरु सुकुम्बासी भएका छन्।

जीवनभरको कमाइ त्यही घरजग्गामा हालेका थिए, जुन बैंकले तान्यो। बैंकले घरजग्गा तानेपनि कसले किन्ने ? सर्वसाधारणलाई दुई छाक खान धौ धौं परेको अवस्थामा घरजग्गा कसले खोज्ने ? लिलामीमा राखेको धितो बिक्री नभएपछि बैंकका कर्मचारी आफैं खटिनुपर्ने अवस्था जाइलागेको छ। बैंकले ऋण मिलाइदिन्छु भनेर के गर्नु भोलि तिर्न सकेन् भने तानिहाल्छ। आउनुपर्ने आखिर सडकमै हो।

बैंकबाट ऋण लिएर घरजग्गा खरिद गरेकाहरु पनि ग्राहकको खोजीमा छन् । विज्ञापन गरेर, पोष्टर टाँसेर, बाटो बाटो चहार्दै उनीहरु ग्राहकको खोजी गरिरहेका छन्। बैंकले धितो तान्नुभन्दा आफैं बेचेर कर्जा चुक्ता गरिदिन्छु भनेर लागिपर्दासमेत खरिदकर्ता भेटिन मुश्किल छ । मालपोत कार्यालयमा राखिएका लेखनदासहरुको कार्यालयमा भीड छ । त्यो भीडचाँहि घरजग्गा बेच्नेहरुको हो।

जग्गा किन्ने मान्छे मिलाइदिनुस् भन्दै लेखनदासका धाउनेहरु यत्तिकै छन्। पैसाले फिटिफिटि पारेकाले सस्तोमै भएपनि घरजग्गा बेच्न तयार छन्। अहिले घरजग्गामा कारोबार शून्यझैं छ। जो हेर्यो बेच्ने मात्र भन्छन्, किन्ने कोही छैन्। जता हेर्यो घरजग्गा बिक्रीमा भनेर टाँगिएको हुन्छ । मालपोत कार्यालय पनि चनमन्न छ । तीन वर्ष अघिको एक तिहाइ कारोबार पनि अहिले छैन् ।

वास्तवमा भन्ने हो भने घरजग्गामा पाँच दशकअघि कै अवस्था देखिएको छ । घरजग्गाको मूल्य नै छैन्। जुन रफ्तारले जग्गा दलालीले घरजग्गाको मूल्य बढाएका थिए, त्यही रफ्तारमा घटेको छ। किसानहरुसँग सस्तोमा जग्गा किनेर खण्डीकरण गर्दै दलालीले मँहगोमा बेचे । एक लाख रुपैयाँ आनाको नजाने जग्गालाई टुक्राटुक्रा बनाएर, प्लानिङ्ग गरेर लाखौंमा बेच्ने काम भयो।

मुलुकको ९५ प्रतिशत खेतीयोग्य जमिन घर र बाटो बनाएर सकियो। उर्वरयुक्त भूमिमा दलालहरुले कंक्रिट बनाइदिए। देशमा भोकमरी सिर्जना हुने छाँटकाँट अहिले नै देखिसकेको छ। आकासिँदो मँहगी र व्यापार घाटाले यो प्रष्ट पार्छ। दलालहरुले त राज्यदेखि लिएर बैंक तथा वित्तिय संस्था र सर्वसाधारणसम्मलाई लुटे। राज्यले क्षणिकको राजश्व देख्दा व्यापार घाटा ह्वात्तै बढेको छ।

आफ्नो जनताको पेट भर्न अर्को देशको गुलामी गर्नुपर्ने अवस्था छ। आफ्नो उत्पादनको नामोनिशान छैन्, सबै भारतदेखि लिएर तेस्रो मुलुकबाट आयात हुन्छ। कृषिमूलक देशकै खेतीयोग्य जमिन सबै मासिसकेको छ। किसानहरु सबै पलायन भइरहेका छन्। हिजो निर्यात गर्ने देश आज विदेशीहरुको व्यापार गर्ने थलो बनेको छ । स–साना वस्तुसमेत आयात गर्नुपर्ने अवस्था छ।

राज्यको कमीकमजोरी र लाचारिताको फाइदा दलालीले उठाए। किसानहरुको उठीबास लगाउँदै जग्गा प्लानिङ्ग गरे। रातारात भाउ बढाइयो। बैंकले पनि घरजग्गामा नाफा देख्यो, व्यक्तिले पनि। कहाँ लगानी गर्नेभन्दा घरजग्गामा। विदेश जानेको आँखा पनि घरजग्गामा, देशमा बस्नेको पनि त्यही। आफूसँग भएकोले नपुगे बैंकले कर्जा दिने भएपछि त के चाहियो।

आँखा चिम्लेर लगानी गर्दाको परिणाम अहिले देखापरेको छ। घरजग्गाले अधिकांशलाई रुवाएको छ । आफ्नो पैसा त फस्यो, बैंकको ऋण कहाँबाट ल्याएर तिर्नेजस्तो भइरहेको छ, ऋणीहरुलाई। अधिकांशको घरजग्गा, गाडी, सेयर बैंकको नाममा छ । यी क्षेत्रमा अहिले पूरै मन्दी छाएको छ । बैंक तथा वित्तिय संस्थाको सबैभन्दा धेरै कर्जा लगानी यी क्षेत्रमै छन् । सेयर कारोबार सुस्ताएको लामो समय भइसकेको छ।

३५ सय रुपैयाँसम्म कित्ता पुगेको सेयर अहिले एक सय रुपैयाँमा बेच्छुभन्दा पनि किन्न कोही छैनन् । नयाँ गाडी होस् या पूरानो किनबेच छैन् । बजारमा आएको मन्दीले सबैलाई निराश बनाएको छ । हरेक व्यापार व्यवसाय डामाडोल छ । सरकारले जग्गाको कित्ताकाट खोल्यो तर प्रगति केही छैन्। कित्ताकाट खोलेपछि राजश्व उठ्छ भन्नु दिँउसै सपना देख्नुझै भएको त अहिले प्रमाणित भइसकेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महत अझैपनि बजारले गति लिन्छ भनेर दाबी गरिरहेका छन् । कहिले लिन्छ बजारले गति ? यस्तै पाराले गति लिने होइन्, झनै अवस्था नाजुकचाँहि बन्छ। सरकारसँग कुनै योजना छैन्। बजारलाई कसरी चलायमान बनाउन सकिन्छ ? अहिले देखिएका समस्या कसरी निराकरण गर्ने ? सरकारको ध्यान पुगेको देखिँदैन्। जहिले सुधारिन्छ मात्रै भनेर भएन् नि।

त्यसका लागि त काम पनि गर्नुपर्यो । सरकारले लक्ष्यअनुरुप राजश्व उठाउन सकेको छैन् । सरकारी खर्च धान्नै सरकारलाई महामुश्किल परेको अवस्था छ। कताबाट ऋण ल्याएर कताको समस्या टार्ने ?

सरकारको ध्यान यतिमै सीमित छ। तत्कालै बजार पूरानो अवस्थामा फर्किने देखिँदैन्। आर्थिक संकटले सबैलाई अप्ठेरोमा पारेको छ । झन् बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिनेहरु तनावमा छन्।

बेचौं बिक्री हुँदैन्, बैंकको कर्जा तिर्न गोजीमा शुको छैन्। सहकारी कसरी डुब्यो ? यसको कारण त खुलिसक्यो । घरजग्गामा गरेको लगानीले नै सहकारीहरुलाई भाग्ने अवस्थामा पुर्यायो। नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले घरजग्गा,सेयर र गाडीमा लगानी गर्ने बैंकहरु समस्यामा छन् भन्ने थाहा पाइसकेका छन्। सर्वसाधारणलाई मात्र होइन्, बैंकलाई पनि घरजग्गा, सेयर र गाडीमा गरिएको लगानीले पछुतो लागेको छ।

बैंकको ब्याज बत्तीको मीटरझैं बढेको बढ्यै छ । तर, कर्जा तिर्न सक्ने अवस्था कसैको छैन्। अब अर्थमन्त्री डा महतले कतिञ्जेल ढाँट्छन् ? खर्च कटौती गर्ने कि ढाँटिरहने ? यो सरकारको हातमा छ। पद जोगाउने काम मात्र नगरौं। राष्ट्र र जनताको बारेमा पनि सोचौं। बजारमा माग भए त मूल्य बढ्ने हो। माग नै छैन् केको भाउ बढ्नु ? अझैपनि घरजग्गा, सेयर दलालीहरुले सर्वसाधारणलाई फसाउन सकिन्छ कि दाउ खोजेर बसिरहेका छन्।

दलालीदेखि अब सर्वसाधारण होसियार हुनुपर्छ। उनीहरुलाई आफू जोगिएर अरुलाई फसाउनु छ। अहिले त कसले कसलाई ‘मुर्गा’ बनाउन सकिन्छ भन्नेमै दौडधुप चलेको छ। राज्य दलालीकै पक्षमा देखिन्छ। कसरी हुन्छ घरजग्गाको मूल्य बढाउनुपर्यो ? राज्यको ध्यान पनि यतैतिर छ। राजश्व लिनका लागि राज्यले नै सर्वसाधारणलाई खाडलमा धकेल्दै छ।