चिकित्सकमाथि कुटपिट गरेको विरोधमा,आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प

काठमाडौं। चिकित्सकमाथि कुटपिट गर्नेहरुलाई कारबाहीको माग गर्दै चिकित्सकहरुले हेटौंडामा आज आकस्मिक बाहेकका सबै सेवाहरू बन्द गरेका छन्।हेटौंडामा सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुमा आज आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको हो।

हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रामचन्द्र सापकोटाले आकस्मिक सेवा र फार्मेसी बाहेक कुनै पनि सेवा आज उपलब्ध नहुने बताउनु भएको छ। यता, हेटौँडा अस्पतालका ७८ चिकित्सकहरूले हिजो नै सामूहिक राजीनामा बुझाएका छन्।

कुटपिटमा संलग्नलाई हदैसम्मको कारबाही माग गर्दै उनीहरुले मेसु सापकोटालाई राजीनामा बुझाएका हुन्। मेसु सापकोटाले उक्त राजीनमापत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाउने बताउनु भएको छ।

एक महिनाअघि डेंगी संक्रमणबाट मृत्यु भएका हेटौँडा–१२ का राजेश प्रधानका आफन्तले गत बुधबार हेटौंडाको सञ्चो अस्पतालभित्र प्रवेश गरी डा विकास थापा र डा प्रशान्त विडारीमाथि हातपात गरेका थिए।

हाई डिपेन्डेन्सी युनिट (एचडीयू)मै छिेरर चिकित्सकमाथि आक्रमण हुनुले ज्यानको जोखिम बढाएको गुनासो चिकित्सकहरुले गरेका छन्।

यसैबीच, प्रहरीले कुटपिटमा संलग्न चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा दिवंगत राजेश प्रधानकी श्रीमती, छोरी र अन्य दुई जना रहेको मकवानपुर प्रहरीले जनाएको छ।