एसियाली खेलकुदका लागि पुरुष क्रिकेट टोलीको घोषणा

फाइल तस्बिर

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले चीनको हाङ्झाओमा आयोजना हुने एसियाली खेलकुद प्रतियोगिता (एसियाड)का लागि नेपाली टोलीको घोषणा गरेको छ।आगामी असोज ६ गतेदेखि २१ गतेसम्म आयोजना हुने एसियाली खेलकुदको १९ औँ संस्करण हुँदैछ।

प्रतियोगिताका लागि शुक्रबार क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय पुरुष क्रिकेट टोलीको घोषणा गरेको हो। घोषित टोलीमा करण केसी, प्रतिस जीसी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल र गुलसन झा रहेका छन्।

यसैगरी क्यानले सोमपाल कामी, सन्दीप जोरा, विनोद भण्डारी, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, विवेककुमार यादब, अविनाष बोहरा र सन्दीप लामिछानेलाई पनि एसियाली खेलकुदका लागि घोषित टोलीमा समावेश गरेको छ।

विश्वका ४५ देशको सहभागिता रहने एसियाली खेलकुद प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा एक सय २७ महिला र एक सय २६ पुरूष गरी कुल दुई सय ५३ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछ।