बाँकेको बालसुधार गृहमा झडप, एक जनाको मृत्यु

काठमाडौं। बाँकेको एक बाल सुधार गृहमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा गएराति दुई पक्षबीच तोडफोड र झडप भएको थियो।

झडपमा ११ जना घाइते भएका र एक जनाको उपचारको क्रममा निधन भएको बाँकेकमा प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए। घाइतेहरूको नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

उनीहरुले सुधार गृहका झ्यालका सिसा फुटाउँदै सुरक्षामा खटिएका प्रहरीमाथि पनि ढुंगा र इँटा प्रहार गरेका थिए। के कारणले झडपको स्थिती आयो भन्ने खुलेको छैन। अहिले पनि उनीहरुले नाराबाजी गरिरहेका छन्।

अवस्था सामान्य बनाउने प्रयास भइरहेको बाँके प्रहरीले जनाएको छ। सुधार गृहमा हाल करिब ३ सय जना छन्। यसअघि पर्साको वीरगञ्ज र झक्तपुरमा रहेका बाल सुधार गृहमा पनि तोडफोडका कारण स्थिति तनावपूर्ण बनेको थियो।