कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

फाइल तस्वीर

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा हिजोदेखि सुरु बैठक आज पनि बिहान ११ बजेदेखि बस्ने भएको हो।

हिजोको बैठकमा सभापति शेरबहादुर देउवाले ८ नेतालाई केन्द्रीय सदस्य मनोनीत गरेको जानकारी दिएका थिए। उनले अझै धेरैजना महत्त्वपूर्ण व्यक्तिहरू छुटेको भन्दै केन्द्रीय समितिमा ल्याउन नसकेकाहरूलाई महासमितिमा मनोनीत गर्ने बताएका थिए।

उनीपछि महामन्त्री गगन थापाले अघिल्लो बैठकले गरेका निर्णय कार्यान्वयनको प्रगतिविवरण र तत्कालीन योजनाहरू प्रस्तुत गरेका थिए। महामन्त्रीपछि सात प्रदेशका प्रदेश सभापतिहरू, उपसभापति पूर्णहादुर खड्कासहितले आफ्नो धारणा राखेका थिए।

पहिलो दिनको बैठकमा एक दर्जन नेताहरुले आफ्नो धारणा राखेका थिए । बैठकमा तीन वटा प्रस्ताव प्रस्तुत भएका छन्। हिजोको बैठकपछि बोल्दै नेता मीनबहादुर विश्वकर्माले महासमितिको बैठक मङ्सिर १३,१४ र १५ गते काठमाडौँमा गर्ने प्रस्ताव आएको पेस भएको बताएका थिए।