चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने गृहमन्त्रीको प्रतिवद्धता

काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने सरकारले प्रतिवद्धता जनाएको छ।

मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए।

मंगलबार गृह मन्त्रालयमा भएको छलफलमा हरेक स्वास्थ्य सस्थामा उपचारबारे कुनै गुनासो भए उजुरी गर्ने पेटिका राख्ने र कानुन हातमा लिने प्रयास गरे हुने कारबाहीबारे सूचना राख्न पनि सरकार तयार भएको छ।

साथै अहिले जहाँजहाँ घटना भएको छ, त्यसमा संलग्नहरुलाई ऐन अनुसार नै कारबाही गर्ने उपप्रधामन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिवद्धता जनाएका चिकित्सक संघका अध्यक्ष डा। अनिलबिक्रम कार्कीले जानकारी दिए।

बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्यमन्त्री मोहन बस्नेत, नेपाल मेडिकल काउन्सिल, चिकित्सक संघ, नर्सिङ संघ लगायतका प्रतिनिधिको उपस्थिति थियो।

रेजिडेन्ट चिकित्सकहरुले डाक्टरमाथि आक्रमण गर्नेलाई पुर्पक्षका लागि थुनामा पठाएर घटनाको अनुसन्धान गर्नुपर्ने माग राखेका छन् । उनीहरुले यो माग पूरा नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका छन्।