देशभरका ४८ स्थानमा असोज २१ गतेदेखि दशैं लक्षित सहुलियत पसल सञ्चालन हुने, के–के पाइन्छ ?

सांकेतिक तस्वीर

काठमाडौं। सरकारले देशभरका ४८ स्थानमा असोज २१ गतेदेखि दशैं, तिहार र छठ लक्षित सहुलियतपूर्ण पसल सञ्चालनमा ल्याउने भएको छ। सरकारले असोज २१ गतेदेखि मंसिर ३ गतेसम्म करिब डेढ महिनाको अवधिसम्म सहुलियतपूर्ण पसल सञ्चालनमा ल्याउन जनाएकाे छ।   

सरकारले प्रत्येक वर्षको दशैं र तिहार लक्षित सहुलियतपूर्ण पसल सञ्चालन गर्दै आइरहेको छ। यसपटकको दशैंमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले सहुलियतपूर्ण पसल सञ्चालन गर्ने छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशभरको ४८ स्थानमा सहुलियत पसल सञ्चालन गर्नेछ। यसका लागि ४२ विभिन्न जिल्ला छानिएको छ। यसबाहेक, साल्ट ट्रेडिङले ३५ स्थानमा सहुलियतपूर्ण पसल सञ्चालनमा हुनेछ।

सरकारले चालू आर्थिक वर्षमा सहुलियतपूर्ण पसलका लागि भनेर २ करोड ३२ लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ। मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले सरकारले यही असोज २१ गतेदेखि करिब डेढ महिनासम्मका लागि सहुलियत पसल सञ्चालनमा आउने बताए।

सरकारले सञ्चालन गर्ने पसलमा जिउँदा खसी/च्याङ्गा, मोटा/मसिनो चामल, दाल, गहुँ, आँटा, पिठो, मैदा, तोरीको तेल, सूर्यमुखी तेल, भटमास तेल, चिउरा पाइन्छ।

त्यस्तै कर्णालीको सिमी÷गेडागुडी, फापरको दाना, चिनो, कागुनो र उवा, चिनी, नुन र अन्य प्रकारका खाद्य वस्तु समेत सहुलियत पसलमा राखिने सरकारले जनाएको छ।

सरकारले हेरक बर्ष यसरी नै सर्वसाधारणकाे लागि चाडपर्व लक्षित सहुलियत पूर्ण पसल सञ्चालन गर्दै आएकाे छ।